उद्योगी राठी अपहरण आरोपमा सिद्दिकी पक्राउ, यस्तो छ विराटनगरमा व्यवसायी अपहरण श्रृंखला



विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीको अपहरण अभियोगमा नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय शहेन्शा सिद्धिकी भन्ने अब्दुल खताब पक्राउ परेका छन् । ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा खताब बिहीबार विराटनगर–१,तीनपैनीबाट पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले उजुरी दिएको ११ दिनमा उनी पक्राउ परेको पुष्टि गरे । उनकाअनुसार आरोपित खतावलाई बिहीबार नै अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखिएको छ ।

राठी ग्रुपका निर्देशक अरुणकुमारले मंसिर १९ गते खताबविरूद्ध मोरङ प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि पनि आरोपितलाई पक्राउ नगरेको भन्दै विराटनगरका उद्योगी/व्यवसायी संस्थाका तीनवटा संगठनले प्रेस विज्ञप्ति निकालेका थिए ।

त्यस्तै नेकपा (एमाले) निकट नौ वटा जनसंगठनहरूले पनि मंगलबार पत्रकार सम्मेलन गरेर आरोपितलाई पक्राउ गर्न माग गरेका थिए ।

आरोपित खताव एकपटक जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको भनिए पनि त्यसपछि उनी फरार थिए । राठी गत चुनावमा एमालेका तर्फबाट प्रदेश १ प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार थिए ।

अपहरणको नालीबेली

खताब र राठी सो मिडियाका व्यावसायिक साझेदार हुन् । खताबले ‘धेरै अप्ठ्यारो’ परेको देखाएर आफूबाट ११ लाख रूपैयाँभन्दा बढी रकम सापटीभन्दै लिएको राठीको दाबी छ ।

खताबसँग ३ वर्षदेखिको चिनजान र सम्पर्कका आधारमा २० प्रतिशत अर्थात ५ हजार कित्ता शेयर लिएर मिडिया प्रालिको सञ्चालकमा उनी पनि बसेको कुरा राठीले उजुरीमा खुलाएका छन् ।

खताबले छायाँङ्कनसहितको भिडियो अन्तर्वार्ता लिने भनेर आफ्नै स्कुटरमा लगेर आफूलाई बन्धक बनाउँदै कुटपिट गरेको राठीले जाहेरी दिएका छन् । घटना मंसिर १४ गते बिहानको हो ।

सुरुमा एभरेस्ट बोर्डिङ स्कुलअगाडि रहेको ट्रान्स नेपाल फ्रेड सर्भिसेज प्रालिको दोस्रो तलामा लगेर छायाँङ्कन गरी अन्तर्वार्ता लिएको र त्यसपछि सरौचियास्थित कार्यालयको पुरानो स्टुडियोमा लगेर बन्धक बनाइ कुटपिट गर्दै १५ लाख रुपैयाँको चेक काट्न बाध्य पारेको राठीको जाहेरीमा उल्लेख छ ।

आफूलाई धेरै अप्ठ्यारो परेको देखाएर यसअघि पनि खताबले पैसा लिँदै आएको उनको दाबी छ । उनका अनुसार सुरुमा २० लाख रुपैयाँ लगानी गरिएको थियो । त्यसपछि २ पटक ५/५ लाख गरेर र १ पटक डेढ लाख गरेर ११ लाख ५० हजार रुपैयाँ दिएको उनी बताउँछन् ।

‘अन्तर्वार्ता लिने भन्दै फकाएर मलाई मेरै घरबाट स्कुटरमा लिएर गए । अन्तर्वार्ता पनि लिए । खताबसँग १ जना अपरिचित व्यक्ति पनि थिए,’ राठीले भने, ‘सोफामा बसिरहेका बेला मलाई एक्कासी फलामको साङ्लोले बाँध्न खोजे । भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिएर हातखुट्टा बाँध्दै कुटपिट गरे । त्यसपछि १ करोडको ‘बार्गेनिङ’ गर्न थाले ।’

आफ्नो ज्यान खतरामा परेको ठानेर आफूले पनि पैसा दिन्छु भनेर फुत्किने प्रयास गरेको जाहेरीमा उल्लेख गरेका छन् । १ करोड रुपैयाँमा सुरु भएको ‘बार्गेनिङ’ पछि ३० लाखमा मिलेको राठीले बताए ।

त्यसपछि घरमा भएको ग्लोबल आइएमी बैंकको चेक चालकमार्फत मगाएर नेपाल टाइम्स मिडिया प्रालिका नाममा १५ लाख रुपैयाँको तत्काल काटिदिएको र एक सातापछि १५ लाख रुपैयाँ दिने सर्त राखेर आफूलाई छाडिदिएको राठीले बताए ।

अपहरण गरेर मंसिर १४ गते बिहान ६:३० बजेदेखि १०:३० बजेसम्म बन्धक बनाए रकम असुली गरेको भन्दै राठीले खताबसहित अन्य व्यक्तिविरुद्ध पनि जाहेरी दिएका छन् । तर, अन्य व्यक्तिको पहिचान आफूले गर्न नसकेकाले खताबबाटै पत्ता लगाएर कारबाही गर्न जाहेरीमा उनले माग गरेका छन् ।

‘घटनापछि म निक्कै डराएको र त्रसित भएको थिएँ । गोलीले हानेर मार्नेसम्मको धम्की दिए । यो घटना सार्वजनिक गरेमा परिवारलाई पनि सिध्याइ दिने धम्की आयो,’ राठीले भने, ‘क्यामेराको ब्यागमा पेस्तोल पनि छ । जिन्दगी एउटा गोली न हो भनी पैसाको ‘बार्गेनिङ’ गरे । मलाई तलमाथि नगर्नू, नत्र बुझेकै छ भनेर चेतावनी पनि दिए ।’

अपहरणको श्रृंखला

यसअघि पनि विराटनगरका उद्योगी अपहरणमा नपरेका होइनन् । उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीका अनुसार यसअघि आधा दर्जनभन्दा बढी उद्योगीहरू अपहरणमा परिसकेका छन् । त्यसरी अपहरण पर्नेमा उद्योगी तुलसीराम अग्रवाल, ज्ञानचन्द दुगड, पवन राठी, सूर्यकिरण बोथरा, सीताराम काबरालगायतका छन् । यसअघि अपहरण गर्नेहरू प्राय: भारतीय नागरिक संलग्न थिए ।

तुलसीरामलाई २०५८ साल माघ १३ गते ‘मर्निङ वाक’ मा हिँडेको समयमा विराटनगरबाटै अपहरण गरिएको थियो । उनलाई भारत लगेर तीन करोड रूपैयाँभन्दा बढी फिरौति रकम असुलेर मुक्त गरिएको थियो ।

त्यस्तै उद्योगी ज्ञानचन्द दुगडलाई भारतको फारविसगञ्जबाट अपहरण गरिएको थियो । उनी दाजु भेट्न त्यहाँ पुगेका थिए । उनलाई पनि फिरौती रकम असुलेर मुक्त गरिएको थियो ।

उद्योगी पवन राठीलाई सुनसरी जिल्लाको भोक्राहाबाट अपहरण गरिएको थियो । उनी पनि फिरौती रकम बुझाएर अपहरण मुक्त भएका थिए ।

त्यसैगरी उद्योगी सूर्यकिरण बोथरा सुनसरीको हरिनगराबाट अपहरणमा परेका थिए । उनी पनि फिरौती रकम बुझाएर अपहरण मुक्त भएका थिए ।

उद्योगी सीताराम काबरा पनि अपहरणमा परेका थिए । उनी पनि फिरौती रकम बुझाएर अपहरण मुक्त भएका थिए ।


क्लिकमान्डु