देशको अर्थतन्त्र चाडै संकटमा पर्ने निश्चित छ: अध्यक्ष गोल्छा



विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्र निकै नाजुक अवस्थामा पुगेको बताएका छन् ।

सातौं संस्करणको विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) को उद्घाटन सत्रमा अध्यक्ष गोल्छाले कोभिड, नाकाबन्दी, भूकम्प र लोडसेडिङको भन्दा अहिले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताए ।

भुक्तानी सन्तुलनले मात्र अर्थतन्त्र चलायमान नुहने भन्दै उनले भने ‘अर्थतन्त्रमा ठूलो चुनौति देखा परेको छ, यसलाई सरकारले समयमै सम्बोधन गर्न नसको देशको अर्थतन्त्र चाडै नै संकटमा पर्ने निश्चित छ ।’

अहिले निर्माण क्षेत्रमा ७०, अटो व्यवसायमा ८०, विद्युतीय उपकार व्यवसायमा ५५, विद्युतीय कारोबारमा ५०, बीमा व्यवसायमा ३०, घरजग्गा कारोबारमा ४५, शेयर बजारमा ३०, डिजेल खपतमा २५, ढुवानी व्यसायमा ६०, होटल व्यवसायमा ३०/४०, उद्योगको इन्धन खपत १५/३० र दैनिक व्यवसायमा १० प्रतिशत संकुचन आएकोले देश संकटतर्फ उन्मुख भएको उनले तथ्यांक प्रस्तुत गरे ।

‘चालू आर्थिक वर्षको पाँच महिनामा पनि उद्योगी व्यवसायीले बैंकको व्याज र किस्ता तिर्न नसक्ने अवस्था छ, पुस महिनामा अधिकांशले व्याज र किस्ता तिर्न नसकेर पलायन हुनुपर्ने जटिल स्थिति निम्तिँदैछ,’ उनले भने ।

यस्तो जटिल अवस्थामा सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर यो स्थितिको अन्त्य गर्न चाडै सोच्नुपर्ने उनले सुझाव दिए ।

उनले अहिलेको समस्या तरलता अभाव, बैंक व्याजदरमात्र चुनौति नभएर राजश्व घटेको, रोजगारी सिर्जना भएको, आयकर ५० प्रतिशतले कम हुने संकेत देखा परेको धारणा राखे ।


क्लिकमान्डु