नेपाल लाइफ, एलआईसी र नेशनलले ओगटे जीवन बीमा व्यवसायको आधा हिस्सा



काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका तीनवटा कम्पनीले व्यवसायको आधा हिस्सा ओगटेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पननीहरुमध्ये नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार यी कम्पनीहरुले कुल जीवन बीमा व्यवसायको ५२.५३ प्रतिशत हिस्सा ओगटेका हुन् ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४६ अर्ब एक करोड १५ लाख रुपैयाँको कुल व्यवसाय गरेका छन् । ती कम्पनीहरुले मात्रै २४ अर्ब १७ करोड रुपैयाँको कुल व्यवसाय गरेका हुन् ।

२८ प्रतिशत हिस्सा नेपाल लाइफले ओगट्यो

तथ्यांकअनुसार नेपाल लाइफले कुल जीवन बीमा व्यवसायको २८.०७ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

कात्तिक मसान्तसम्मा नेपाल लाइफले १२ अर्ब ९१ करोड रुपैयाँ संकलन गरेको छ । गत आवको तुलनामा इन्स्योरेन्सले २.८८ प्रतिशतले व्यवसाय बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले १२ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

एलआईसीले साढे १२ प्रतिशत र नेशनलले करिब १२ प्रतिशत हिस्सा ओगटे

चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा एलआईसीले जीवन बीमा व्यवसायको १२.५३ हिस्सा ओगटेको छ । इन्स्योरेन्सले यस अवधिमा ५ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १२.४७ प्रतिशतले घटेको हो । गत आवको कात्तिक मसान्तसम्मको अवधिमा इन्स्योरेन्सले ६ अर्ब ५८ करोड रुपैयाँको कुल व्यवसाय गरेको थियो ।

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले जीवन बीमा व्यवसायको ११.९३ प्रतिशत हिस्सा ओगटेको छ । इन्स्योरेन्सले कात्तिक मसान्तसम्मको अवधिमा ५ अर्ब ४९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको व्यवसाय २०.९२ प्रतिशतले बढेको हो । गत आवको कात्तिक मसान्तसम्मको अवधिमा इन्स्योरेन्सले ४ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

१६ बीमा कम्पनीले ओगटे ४७.४७ प्रतिशत हिस्सा

नेपाल, एलआइसी र नेशनल लाइफ बाहेकका १६ वटा जीवन बीमा कम्पनीहरुले कुल जीवन बीमा व्यवसायको ४७.४७ प्रतिशत हिस्सा आगटेका छन् ।

यूनियन लाइफले ५.४४ प्रतिशत, एशियनले ४.९५ प्रतिशत, सिटिजन लाइफले ३.९८ प्रतिशत, सूर्याले ३.७४ प्रतिशत, मेट लाइफले ३.६६ प्रतिशत, प्राइम लाइफले ३.३४ प्रतिशत र राष्ट्रिय बीमा संस्थानले ३.२२ प्रतिशत हिस्सा ओगटेका छन् ।

यस्तै, सन नेपाल लाइफले २.९३ प्रतिशत, ज्योति लाइफले २.५८ प्रतिशत, आइएमई लाइफले २.५० प्रतिशत, रिलायबलले २.४९ प्रतिशत, रिलायन्सले २.२२ प्रतिशत र गुँरास लाइफले २.०५ प्रतिशत हिस्सा ओगटेका छन् । भने सानिमा लाइफले १.७६ प्रतिशत, प्रभु लाइफले १.४६ प्रतिशत र महालक्ष्मी लाइफले १.१५ प्रतिशत हिस्सा ओगटेका छन् ।

करिब ५ प्रतिशतले घट्यो व्यवसाय

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४६ अर्ब १ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ४.७९ प्रतिशतले घटेको हो । गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले ४८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको कात्तिक महिनासम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट ९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ उक्त रकम संकलन गरेका हुन् ।

कात्तिक मसान्तसम्मा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ४२ हजार ३०९ वटा रहेको बीमा प्राधिकरणले जनाएको छ ।

गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कवापत १२ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कवापत ३५ अर्ब ७ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । उक्त अवधिमा ९५ लाख ७ हजार ४२१ वटा बीमालेख जारी भएका थिए ।


क्लिकमान्डु