मस्कले किन बेचे टेस्लाको करिब ३ खर्बको सेयर ?



काठमाडौं । टेस्लाका मालिक एलन मस्कले कम्पनीबाट बुधबार थप ३.६ बिलियन अमेरिकी डलर ( करिब २ खर्ब ९६ अर्ब ९१ करोड ९७ लाख २० हजार नेपाली रुपैयाँ)को सेयर बिक्री गरेका छन् ।

मस्कले बुधबार गरेको कारोबारसँग उनले यो वर्षमात्रै टेस्लाबाट ४० बिलियन अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका छन्।

जबकी अहिले कम्पनीको सेयर दुई वर्ष यताकै सबैभन्दा न्यून बिन्दुमा छ र यसले लगानीकर्ताहरुलाई निराश बनाएको छ ।
अमेरिकाको एक धितोपत्र कम्पनीको तथ्यांकले देखाएअनुसार उनले सोमबारदेखि बुधबारसम्म तीन दिनमा संसारकै सबैभन्दा रुचाइएको र मूल्यवान कार निर्माता कम्पनीबाट २२ मिलियन (२ करोड २० लाख) सेयर बिक्री गरेका छन् ।

उनले अक्टोबरमा ४४ अर्ब डलरमा ट्विटरको खरिद गरेपछि बिक्री गरेको यो सबैभन्दा ठूलो संख्यामा टेस्लाको सेयर हो । तर, मस्कले कुनै खुलासा नगरेका कारण उनले यसरी सेयरको बिक्री गर्नु ट्विटरको अधिग्रहणसँग सम्बन्धित छ वा छैनन भन्ने स्पष्ट छैन ।

लगानीकर्ताहरुमा भने मस्कले टेस्लाभन्दा बढी प्राथमिकतामा ट्विटरलाई राखेको र आफ्नो ध्यान त्यतै केन्द्रित गरेर स्रोतहरु पनि ट्विटरमै केन्द्रित गरेको भन्ने निष्कर्ष निकालिरहेका छन् ।

जसकारण टेस्लामा लगानी गरेका लगानीकर्ताहरुमाझमा निराशा फैलिरहेको छ ।

तथ्यांककाअनुसार एक वर्षअघि टेस्लामा १७ प्रतिशत हिस्सा भएका मस्कसँग अहिले कम्पनीमा १३.४ प्रतिशत मात्रै हिस्सा रहेको छ । उनले बाँकी सेयर बिक्री गरेका छन् ।


क्लिकमान्डु