निजी क्षेत्र ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा पुग्यो, पुसदेखि लिलामीको सूचना धेरै आउँछ: अग्रवाल



काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कम्लेश अग्रवालले पुसमा ब्याज र किस्ता तिर्न निजी क्षेत्रलाई निकै कठिनाइ भइरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको १३औं वार्षिक कार्यक्रममा अग्रवालले तरलता अभाव र ब्याजदर वृद्धिका कारण पुसमा ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा निजी क्षेत्र पुगेको बताएका हुन् ।

रुस र युक्रेनबीचको द्वन्द्वले अर्थतन्त्रमा निकै असर पुगेको उनले बताए । विश्वव्यापी रुपमा अधिकांश मूल्यवृद्धि भएको र अर्कोतर्फ माग घट्दा निजी क्षेत्र निकै समस्यामा परेको उनको भनाइ छ ।

‘रुस र युक्रेनले गर्दा २० प्रतिशतले तरलता अभाव बढेको छ । अर्कोतर्फ मूल्य बढेको अवस्था छ । त्यसमा पनि उच्च ब्याजदरले थप तरलता अभाव सिर्जना भएको छ,’ उनले भने । उनले माग कम भएर सामान स्टकमा थन्किएको पनि जिकिर गरे ।

बजारमा माग घटेको अवस्थामा बजारबाट पैसा उठ्न नसकेको भन्दै उनले पैसा उठ्न नसकेको अवस्थामा थप पुँजी कहाँबाट ल्याउने भन्दै प्रश्न गरे । ‘पहिले चालु पुँजीबाट प्रयोग गरिरहेका थियौं । तर, अहिले ब्याज र किस्ता पनि तिर्न नपाइने र भएको चालु पुँजी पनि केही प्रतिबन्धका कारण चाहिने ठाउँमा प्रयोग गर्न नपाइने अवस्था छ । अनि ब्याज र किस्ता कसरी तिर्ने ?,’ उनले प्रश्न गरे ।

निजी क्षेत्रमा समयमै ब्याज तिर्न नसक्दा पुसदेखि पत्रपत्रि लिलामीको सूचनाले भरिने उनको दाबी छ ।

‘भएको सम्पत्ति सबै बैंकको नाममा छ । अबको बैंकको नामबाट लिएर बाहिर प्रवाह गर्न पनि मिलेन । डिफल्ट हुने वित्तिकै बैंकहरुले सम्पत्ति लिलामी निकालिदिने । पुसपछि पत्रपत्रिकामा बढी लिलामीको सूचनाले नै भरिनेछन् । उद्योग बन्द हुने अवस्थामा पनि छन् । त्यसपछि व्यवसायीहरु बाध्य भएर आन्दोलनमा नगएर के गर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।


क्लिकमान्डु