अनुमति पाएका लघुबीमा कम्पनीले केही महिनाभित्रै काम थाल्छन्: अध्यक्ष सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुबीमा व्यवसाय गर्न अनुमति पाएका लघुबीमा कम्पनीले केही महिनाभित्रै काम शुरु गर्ने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले मधेश प्रदेशको वीरगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

प्राधिकरणले मंसिर ११ गते ७ वटा लघुबीमा कम्पनीलाई लघुबीमा व्यवसाय गर्ने अनुमति दिएको थियो ।

अध्यक्ष सिलवालले पालिकाहरुले बजेट तर्जुमा गर्दा नै बीमाको प्रवद्र्धन एवम् पहुँच विस्तारका लागि व्यवस्था गर्नु उपयुक्त हुने बताए । पालिकाका कामहरुसँग आवद्ध गरेर अनिवार्यरुपमा घर तथा सम्पत्तिको बीमा गर्ने व्यवस्था गर्न आग्रह समेत उनले आग्रह गरे ।

अध्यक्ष सिलवालले ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका न्यून आय भएका बर्गलाई समेत बीमाको दायरामा ल्याउन पालिकाहरुले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट नै बीमाका अधिकाङ्श सेवाहरु सेवाग्राहीले प्राप्त गर्नसक्ने जानकारी दिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरु शहरी क्षेत्रमाभन्दा पनि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने र हरेक किसानसम्म बीमाको पहुँच पुग्नुपर्ने बताए ।

प्रमुख सिंहले बीमा कम्पनीहरुले बीमाको दाबी भुक्तानीका लागि अनावश्यक कागजात माग्ने, झुलाउने र समयमा दाबी भुक्तानी नदिने जस्ता गुनासाहरू आउने गरेको उल्लेख गरे । बीमाप्रतिको विश्वास बढाउनका लागि समयमै दाबी भुक्तानी हुनुपर्ने सुझाव उनले दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालले बीमा कम्पनीहरुले बीमाको दाबी भुक्तानी दिने बेलामा अनावश्यक कागजातहरु मागेर हैरान पार्ने गरेको गुनासो गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ०७९ साल असार मसान्तसम्ममा मधेश प्रदेशमा म्यादी जीवन बीमालेख समेत गरी बीमाको दायरामा आएको जनसंख्या ९.२० प्रतिशत र निर्जीवन बीमातर्फ कूल कृषि तथा बाली बीमामध्ये ६.७५ प्रतिशत मात्र कृषि तथा बाली बीमा रहेको जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले मधेश प्रदेशमा जीवन बीमाका साथै निर्जीवन बीमा अन्तर्गत कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको पहुँच विस्तारमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।

यसअघि प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरुको उद्घाटन गरिसकेको छ ।

प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम संचालनका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायतका कार्य सम्पादन हुने प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु