हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउन अध्यादेश: सरकारका प्रवक्ता

532
Shares

काठमाडौं । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको प्रष्ट पारेको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चाकर्मीहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा सबैलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन खोजिएको बताए ।

आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनैतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको उनको भनाइ थियो ।

यस किसिमका अध्यादेश योभन्दा अघिका सरकारले पनिजारी गरेको भन्दै मन्त्री कार्कीले अहिलेको आवश्यक्तालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याउन लागिएको बताए ।

‘मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश सम्माननीय राष्ट्रपतिमा सिफारिस गरेका छौँ’ उनले भने, ‘यस किसिमका अध्यादेश यो भन्दा अघिका सरकारले पनि अध्यादेश जारी गरेको छ । यस किसिमले माफी दिने सहमति गरेको छ । अहिलेको आवश्यक्तालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति सम्माननीय राष्ट्रपतिकोमा मन्त्रीपरिषद्ले सिफारिस गरेको छ ।’