व्यवसायीलाई उधारो उठाउनै सकस, बैंकले असोजकै ब्याज उठाउन सकेनन्, पुसमा झनै खराब अवस्था हुने



काठमाडौं । बजारमा आर्थिक गतिविधि सुस्त भएपछि उद्योगको उधारो फस्ने क्रम बढेको छ । ५५ वर्षदेखि व्यवसाय गरिरहेका शिवरत्तन शारडा अहिले जस्तो मन्दी कहिल्यै नदेखेको बताउँछन् ।

‘सिमेन्ट र छडको कारोबार ६० प्रतिशतले घटेको छ, बजारबाट उधारो उठ्न सकेको छैन,’ शारडा भन्छन्,‘बैंकले पुरानै परियोजनामा थप लगानी गर्न सकेको छैन । उद्योगीलाई व्यवसाय व्यवस्थापन गर्न निकै कठिन अवस्था छ ।’

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरत आचार्य व्यवसायीले बजार बिस्तार गर्न भन्दा पनि उधारो उठाउन समय खर्च गर्नु परेको बताउँछन् ।

‘बजारमा आर्थिक गतिविधि सुस्त छ । बिक्री भएका सामानको रकम असुल गर्न सकिएको छैन,’ आचार्य भन्छन्, ‘पूँजीको पैसाबाट प्रशासनिक खर्च गर्नु परेको छ । यसरी कति दिन टिक्न सकिन्छ थाहा छैन ।’

आचार्य विगतमा सहकारीमा निक्षेप जम्मा गर्ने र सामान मगाउन रकम तिर्ने खुद्रा व्यवसायीको रकम सहकारीमा डुबेको पनि साना व्यवसायी उधारो तिर्न कठिन भएको बताउँछन् ।

‘विगतमा केही व्यवसायीले शेयर बजार र घर जग्गामा लगानी गरेका थिए,’ आचार्य भन्छन्,‘अहिले घरजग्गा कारोबार ठप्प छ । शेयर बजार घटेको छ । जसले गर्दा उधारो उठाउन झनै ठूलो समस्या भएको हो ।’

केही व्यवसायीले उधारोमा सामान बिक्री गरेकाले पनि कम्पनीलाई पैसा तिर्न समस्या भएको उद्योगी शारडा बताउँछन् ।

‘उधारोमा समान दियो भयो डिलरहरुले सामान लिइहाल्छन्, तर उहाँहरुको पनि उधारो फसेकाले तत्काल पैसा भुक्तानी गर्न सक्ने अवस्थमा हुनु हुन्न,’ शारडा भन्छन्,‘अहिलेको मन्दीले ठूला उद्योगी नभई सबै तहका व्यवसायीलाई असर गरेको छ ।’

हुलास वायर इन्डस्ट्रिजकी प्रबन्ध निर्देशक युक्ती गोल्छा व्यवसाय गर्न कठिन हुँदै भएको बताउँछिन् ।

‘बिक्री घटेको छ, उधारो उठेको छैन,’ गोल्छाले भनिन्, ‘केही महिना यस्तै अवस्था रह्यो भने उद्योग बन्द गर्दा बढी फाइदा हुन्छ । श्रमिक कटौति गर्नु पर्छ ।’

आयात निर्यातको काम गर्दै आएका एक व्यवसायी बजारमा उधारो लिने र नतिर्ने क्रम बढेको बताउँछन् ।

‘पहिला बैंक, सहकारी र सरसापट गरेर पैसा तिर्ने गरिन्थ्यो,’ ती व्यवसायीले भने, ‘अहिले पैसा तिर्नु पर्यो भने फोन स्विच अफ गरेर भाग्ने क्रम बढेको छ ।’

विगतमा उधारोमा भएपनि मालसामान बिक्री गर्ने उद्योगीहरु पछिल्लो समय भने उत्पादन घटाउनतर्फ लागेका छन् । रोजगार र स्वरोजगारमा संलग्य व्यक्तिको साथै उद्यमी व्यवसायी समेत आयमा संकुचन आउँदा बजार प्रभावित भएको उद्योगी व्यवसायीको भनाइ छ ।

व्यवसायीहरुले शेयर बजार र घर जग्गाको कारोबार सुस्त हुँदा समेत अर्थतन्त्र संकुचनमा परेको र व्यक्तिको आम्दानी घटेको बताएका छन् ।

सरकार कोषमा भएको पैसा प्रयोग गरेर बजारलाई चलायमान बनाउन सरकार गम्भिर बन्नु पर्ने आचार्य बताउँछन् । ‘निक्षेप बढ्न नसकेकाले आर्थिक गतिविधि सुस्त भएको तर्क गरिने गर्छ,’ आचार्य प्रश्न गर्छन्, ‘बजारमा आर्थिक ठप्प पारेर, लगानी गर्ने वातावरण नबनाएर निक्षेप कसरी बढ्छ ?’

मौद्रिक वा वित्त उपकरण प्रयोग गरेर आर्थिक गतिविधी चलायमान गराउन सरकार गम्भिर नभए उद्योगी व्यवसायी ठूलो दुर्घटनामा पर्ने आचार्यको भनाइ छ ।

उद्योगी शारडा अहिले देखिएको समस्या समाधानको लागि सरकारले हात बढाउनु पर्ने बताउँछन् ।

‘सरकारले बैंकलाई तरलता सहज हुने व्यवस्था बनाउनु पर्छ । आर्थिक कारोबार नभएको अवस्थामा सरकारले कर उठाउन पनि सक्दैन,’ शारडा भन्छन्,‘यस्तै अवस्था रह्यो भने बैंकको सावाँ ब्याज तिर्न सकिँदैन ।’

स्ट्याण्डर्ड चाटर्ड बैंकका एक कर्मचारीका अनुसार अहिले नै बैंकलाई ब्याज उठायन निकै कठिन भइसकेको छ ।

‘असोजमा प्रकाशित वित्तीय विवरणमा असूल नभएको ब्याजलाई समेत आम्दानी मानेकाले बैंकको नाफा खासै घटेको छैन,’ ती कर्मचारी भन्छन्,‘माघमा प्रकाशित हुने वित्तीय विवरणमा असूल हुन नसकेको ब्याज आम्दानीलाई प्रोभिजन गर्नु पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाको नाफा उच्च दरमा घट्छ ।’

हिमालयले बैंकका एक कर्मचारी ग्राहकलाई ब्याज तिर्न भनेर फोन गर्दा सम्पत्ति लिलाम गर्नुस भनेर थर्काउने गरेको बताउँछन् ।

‘घर जग्गा लिलिमीको सुचना दैनिक पत्रिकामा आएका छन्, तर लिलाम सकार्न कोही आएका छैनन्,’ ती कर्मचारी भन्छन्,‘हामीलाई व्यवस्थापनले जसरी पनि ब्याज उठाउन दबाब दिन्छ । ऋणीले ब्याज तिर्न सकेका छैनन् । बैंक र ग्राहकको द्वन्द्व बढेको छ ।’

ग्लोबल बैंकका एक कर्मचारीले विगतमा बैंकले चालू पुँजी कर्जा दिएर ब्याज असुल गर्ने गरेकोमा अहिले चालू पुँजी कर्जामा कडाइ गरिएकाले समेत ब्याज प्रोभिजन बढ्ने बताउँछन् ।

‘असोजको ब्याज नउठेर समस्या परेको अवस्थामा माघमा कस्तो अवस्था आउँछ हामीेले कल्पना पनि गरेका छैनौं,’ ती अधिकारी भन्छन्,‘यदि आगामी दिनमा आर्थिक गतिविधि चलायमान भएनन् भने कयौं व्यवसायी डुब्ने जोखिम छ ।’

आर्थिक गतिविधि चलायमान बनाउनका लागि सरकारको वित्तीय नीति र मौद्रिक नीतिले उपयुक्त औजारहरु चाल्नुपर्नेमा उल्टै कडाइ गरिएको भन्दै व्यवसायीहरु असन्तुष्ट छन् । चालु पुँजी कर्जा र बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायीहरु सडकमै उत्रिएका छन् ।


क्लिकमान्डु