रेशम चौधरीलाई जेलबाट छुटाउन सरकारले ल्याएको अध्यादेशप्रति गगन थापाको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेल सजाय भोगिरहेका रेशन चौधरीलाई छुटाउने गरि सरकारले अध्यादेश ल्याउन लागेको भन्दै बिरोध गरेका छन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका लागि मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै महामन्त्री थापाले त्यसको बिरोध गरेका हुन् ।

अध्यादेशका बारेमा पार्टीभित्र कुनै छलफल र निर्णय नभएको थापाको भनाइ छ । विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको भन्दै थापाले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही रहेको बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ।अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन’ थापाले लेखेका छन् ।

सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही रहेको भन्दै थापाले यो आफ्नो वा विश्वप्रकाश शर्माको मात्र नभइ नेपाली कांग्रेसकै धारणा र मान्यता भएको उल्लेख गरेका छन् ।

अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत रहेको भन्दै उनले यो असंवैधानिक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित रहेको थापाको भनाइ छ ।

अहिलेको सरकार कामचलाउ भएको भन्दै उनले यसले दुरगामी महत्वको निर्णय गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ’ थापाले भनेका छन् ।

अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने भन्दै उनले भनेका छन्, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ।’

अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेकाले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु