टाटा ग्रुपले चार एयरलाइन्सलाई मर्ज गर्दै



काठमाडौं । केही दिनअघि मात्रै एयर इण्डियाको स्वामित्व हासिल गरेको टाटा ग्रुपले एयर एसिया इण्डियामा पनि अधिकतम सेयर किनेपश्चात चार एयरलाइन्सहरुलाई मर्ज गर्न लागेको छ ।

टाटाले एयर इण्डिया, एयर एसिया इण्डिया, भिस्टारा र एयर इण्डिया एक्सप्रेसलाई मर्ज गर्न लागेको हो ।

ब्लुमबर्गले सार्वजनिक गरेको एक रिपोर्टकाअनुसार टाटा ग्रुपले एयर इण्डिया लिमिटेडको नामबाट यी चारैवटा एयरलाइन्स कम्पनीलाई मर्ज गर्न लागेको हो ।

त्यस्तै, टाटा ग्रुपले भिस्टारा कम्पनीलाई नै खारेज गर्ने पनि जनाइएको छ । भिस्टारा टाटा–एसआईए (सिंगापुर एयरलाइन्स)को संयुक्त कम्पनी हो । रिपोर्टमा बताइएअनुसार सिंगापुर एयरलाइन्सले चारै वटा कम्पनीहरुलाई मर्ज गर्दा आफूले कति सेयर साझेदारी लिने भन्ने विषयमा छलफल र मूल्यांकन भइरहेको छ ।

मर्ज हुने प्रक्रिया एयर एसिया इण्डियाको स्वामित्व एयर इण्डियालाई हस्तान्तरण हुने बित्तिकै सुरु हुने बताइएको छ । सम्पूर्ण प्रक्रियापश्चात आगामी १२ महिनामा यो सबै सम्पन्न हुने सम्भावना रहेको रिपोर्टमा जनाइएको छ ।

चारै वटा एयरलाइन्सबीच मर्ज भएपछि टाटा ग्रुपले भिस्टारासँगको मर्ज प्रक्रियालाई अघि बढाउने जनाइएको छ ।


क्लिकमान्डु