समानुपातिक सांसदहरुको बन्दसूची विवरण सच्याउन दलहरुलाई आयोगले दियो समय



काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ ।

आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि भोलि (सोमवार) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए ।

केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए ।

आयोगले दलहरुबाट त्रुटी सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने जानकारी दिए ।

‘आज हामीले छानविन गर्दा केही केही राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नमिलेको देखियो । त्यो विषयमा आज हामी राजनीतिक दलहरुलाई पत्राचार गर्छौं । र नमिलेको विवरण भोलि सोमवार ४ बजेसम्म राजनीतिक दलहरुले त्यो विवरण सच्याएर आयोगमा पेस गर्नुपर्छ । अनि आयोगले त्यसरी पेस भएको नामावलीहरुलाई निर्वाचित हुनेगरी निर्णय गर्छ’, उनले भने, ‘प्रतिनिधि सभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेस गरेको विवरण ठिक छ । प्रदेश सभातर्फ केही–केही राजनीतिक दलले पेस गरेको विवरणमा अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरिएको देखिएको छ । मुस्लिममा १ नम्बरमा सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरिएको छ । अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूह तानेर सिफारिस गरिएको देखिन्छ । अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम लिइएको देखिन्छ ।’

उनले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिवार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेका उल्लेख गरे ।


क्लिकमान्डु