चौधरी ग्रुपले निर्माण गरेको पहिलो हाइड्रोपावर ‘मिडिल मोदी जलविद्युत् आयोजना’ सम्पन्न



काठमाडौं । चौधरी ग्रुपद्वारा प्रवर्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु भएको छ ।

मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादित विजुली राष्ट्रिय प्रसारण लाईनमा आवद्ध भईसकेको छ । १५ दिन परिक्षण उत्पादनपछि नियमित उत्पादन शुरू हुने चौधरी ग्रुपले जनाएको छ ।

मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानी गरेको पहिलो आयोजना हो । जलविद्युत् उत्पादनमा प्रवेश गर्ने ग्रुपको दशक पहिलेको योजना कार्यान्वयनमा सम्वन्धित निकायबाट सहयोग नभएपछि यस क्षेत्रको प्रवेशमा केही ढिलाई भएको थियो ।

ग्रुपले अगाडि बढाएको आयोजना सम्पन्न भएकोमा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले खुसी व्यक्त गर्दै नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रले उल्लेख्य योगदान गर्न सक्ने बताए ।

‘चौधरी ग्रुपले आफ्नो पहिलो जलविद्युत् आयोजनाको निर्माण पुरा गरेको छ । बिजुलीको अत्यधिक खपत हुने ड्राई सिजनमा आयोजना सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिएकोमा हामी खुसी छौं,’ चौधरीले भने, ‘यसबाट देशको आर्थिक विकासमा सकारात्मक योगदान पुग्नेछ । आर्थिक विकासका लागि पूर्वाधारहरूमा गरिने लगानीले निकै महत्वपूर्ण अर्थ राख्छ ।’

चौधरी ग्रुपले अन्य जलविद्युत् आयोजनामा पनि काम गरिरहेको जानकारी पनि उनले जानकारी दिए ।

पर्वतको मोदी गाउँपालिका-२ केङ्गामा पावर हाउस निर्माण गरिएको आयोजनाको बाँध कास्कीको अन्नपूर्ण गाउँपालिका-३ वीरेठाँटीमा रहेको छ । यस आयोजनामा दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमार्फत् मोदी खोलाको पानी खसालिएको छ ।


क्लिकमान्डु