तत्काल पीपीए खुला नगरे निजी क्षेत्र बिस्थापित हुनसक्छः वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पीपीए खुला नगरे निजी क्षेत्र बिस्थापित हुने अवस्था आउनसक्ने बताएका छन् ।

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावट सम्मको जलविद्युत आयोजनालाई पीपीए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताए ।

निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको भन्दै उनले विद्युतीय पूर्वाधार विकास नहुँदा विद्युत प्रशारण र वितरणका लागि उत्पादित विद्युत प्राधिकरणले लिन नसकेको बताए ।

ढकालले जलविद्युतमा पीपीए गर्न ढिला भए निजी क्षेत्रको खर्बौंको लगानी अलपत्र पर्ने बताए । जलविद्युतको अर्बौंको लगानी गर्ने निजी क्षेत्र बिस्थापित हुँदा पुनः देशमा १८ घण्टाको लोडसेडिङ हुनसक्ने उनको चेतावनी थियो ।

वरिष्ठ उपाध्यक्ष ढकालले बैंकिङ तरलता,ब्याजदर लगायतका समस्याले मुलुकको अर्थतन्त्रमा थप संकटमा जानसक्ने बताए ।
उनले अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभइ समग्र मुलुकको नै समस्या भएको बताए ।

त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारले सरकारले पछिल्लो समय व्यवसायीहरुका समस्या समाधान गर्न ढिला गरेको आरोप लगाए । निजी क्षेत्रको आत्मबल कमजोर भए अर्थतन्त्र माथि उठ्न नसक्ने उनको भनाइ थियो । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको उनको भनाइ थियो ।


क्लिकमान्डु