विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौँः कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।

बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताए ।

नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनको लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको उनले बताए । घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए ।

विद्युत प्रसारण, वितरण र सव स्टेशनको विकास नभइ विद्युत खपत बढाउन नसक्ने उनको भनाइ छ ।

प्राधिकरण गुणस्तरीय विद्युत र चाहे जति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताउँदै उनले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए।

उनले अबको २ वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नआउने बताए । वर्षाको समयमा विद्युत निर्यात गरिरहेको भन्दै विद्युत निर्यात गर्नु सरकारको सफलता नभए पनि खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको उनको भनाइ थियो ।

विद्युत खपत बढाए मात्रै मुलुकमा समृद्धि आउनेभन्दै एक युनिट विद्युत पनि खेर फाल्न नहुने उनले बताए ।


क्लिकमान्डु