मेयर कोइरालाले भाडामा लगाएको पसलमा डोजर चलाएर अवैध संरचना हटाउन शुरु



विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान शुरु गरेको छ ।

जसको शुरुवात महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटरअगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो ।

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको प्रस्ट पारे ।

‘परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरिचार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौं,’ उनले भने, ‘विराटनगर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो । यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ । विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु ।’

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना जारी र धेरै पटकक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाकको भनाइ छ ।

अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालयअगाडि रहेका पसल, वडा ९ को कार्यालय, बुधहाट चोकस्थित बी प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

महानगरले यसअघि १९ वटै वडामा सरसफाई विशेष अभियान, सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाउनेलगायतका अभियान सुरु गरिसकेको छ । महानगरले सुरु गरेको अभियानप्रति विराटनगरको नागरिक समाजले समेत खुसी व्यक्त गरेको छ ।

उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्षसमेत रहनु भएका नागरिक समाजका अगुवा कृष्णप्रसाद भण्डारी मार्सेलीले महानगरले सुरु गरेको अभियान अत्यन्तै सकारात्मक भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘मेयर नागेश कोइरालाले विराटनगरलाई यथास्थितिमा रहन नदिने जुन उद्घोष गर्नु भएको छ त्यो निकै नै राम्रो पक्ष हो । उहाँले बोलेअनुसार काम पनि सुरुवात भइसकेको छ । यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’

अवैध संरचना हटाउने अभियान महानगरका १९ वटै वटामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । मेयर कोइरालाले जभाभावी फोहोर गर्ने र बजारको सौन्दर्यकरणमा ह्रास आउने काम गर्नेलाई तत्काल कारबाही गर्ने अधिकार सफाई शाखाका प्रमुख पुनम दाहाल र नगर प्रहरीका प्रमुख राजन पौडेललाई अधिकार दिइसकेका छन् ।

जथाभावी टाँगेका अनावश्यक केवल र नेटका तार हटाउने अभियान पनि सुरु भइसकेको छ । केही दिनअघि केवल प्रदायक संस्थाका प्रतिनिधिहरूलाई बोलाएर मेयर कोइरालाले तारलाई तत्काल व्यवस्थित गर्न दिर्नेशन दिएका थिए ।


क्लिकमान्डु