प्रतिबन्धका बाबजुद चार महिनामा साढे ४ करोडको तास आयात



काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएकोभन्दै नेपाल राष्ट्र बैंकले विभिन्न बस्तु आयातमा कडाइ गर्दै आएको छ ।

राष्ट्र बैंकले पहिलो पटक पुस ५ गते प्रतितपत्र जारी गर्दा २० वटा वस्तुको आयातको १०० प्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले आयातमा कडाइ गरेको बस्तुमध्ये खेल्ने तास पनि एक हो । राष्ट्र बैंकले बिलासिताको वस्तुको रुपमा आयात भइरहेको खेल्ने तासमा शत प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

मार्जिनको व्यवस्थाले अपेक्षाअनुसार आयात नघटेपछि सरकारले वैशाख १३ गते राजपत्र प्रकाशित गर्दै आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसमा सरकारले खेल्ने तास पनि समावेश गरेको थियो ।

सरकारले विलासिताको वस्तुमा समावेश गरी प्रतिबन्ध गरेको तासको आयात भने रोकिएको देखिँदैन । सरकारी तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ४ करोड ५६ लाख २६ हजार रुपैयाँको २२ लाख ९६ हजार ५६१ पिस तास आयात भएको छ । उक्त आयातित तासबाट नेपालले २ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले गत वर्षको चार महिनाको अवधिमा १३ करोड ७२ लाख ४ हजार रुपौयँको ६८ लाख २२ हजार ४०९ पिस तास आयात गरेको थियो । सरकारले ७ करोड १९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यस्तै, गत वर्ष २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको १ करोड ९ लाख ६० हजार ५४७ पिस तास आयात गरेको थियो । सरकारले ११ करोड ४४ लाख ५५ हजार रावस्व संकलन गरेको थियो ।

गत भदौ १४ गतेबाट भने सरकारले तास आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ ।


क्लिकमान्डु