पर्यटन क्षेत्रमा गरेको लगानीले भेटिन्छ समृद्धि




मुलुकलाई समृद्धिको बाटोमा लैजाने महत्वपूर्ण पक्ष भनेको आर्थिक विकास नै हो । आर्थिक विकास नभई समृद्धिको बाटोमा जान सम्भव छैन ।

नेपालमा अहिले तरलता (लगानीयोग्य रकम) को निकै अभाव छ । बैंकको ब्याज निकै बढेको छ । विदेशी विनिमय सञ्चिति घट्दो छ, जसका कारण आवश्यक सामान आयात गर्न प्रतितपत्र (एलसी) खोल्न पनि समस्या देखिएको छ । एलसी खोल्न नपाएपछि सामान आयात रोकियो । हाम्रो आन्तरिक उत्पादन धेरै भएको भए केही फरक पर्ने थिएन ।

नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) को यो वर्षको नारा ‘पहिला देश’ रहेको छ र हामीले त्यहीअनुसार काम गरिरहेका छौं । यसको उद्देश्य भनेको हामीले नेपालमा उत्पादन गरेका सामान प्रयोग गर्नुपर्छ भन्ने नै हो । हामीले आन्तरिक उत्पादन प्रयोग गरेर अन्य देशसँग भर पर्नुपर्ने बाध्यता हटाउँदै लैजान आवश्यक छ ।

नेपालको आर्थिक विकासका लागि सबैभन्दा पहिला आन्तरिक उत्पादनको खपत स्वदेशमा नै बढाउनु हो । आन्तरिक उत्पादनको प्रयोग बढाउने हो भने माग बढ्दै जान्छ र उत्पादन पनि बढ्दै जान्छ ।

जसले गर्दा हामीले आयात कम गर्न सक्छौं । हामीले अब समृद्धिको बाटो तय गर्ने हो भने आन्तरिक उत्पादन बढाउने, प्रयोग बढाउनेतर्फ जानुपर्छ । यो नै अबको अपरिहार्य आवश्यकता हो । यसले हामीलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजान निकै सहयोग गर्ने छ । यो काम हामीले अहिले नै गर्न सक्छौं । ‘मेड इन नेपाल’ भन्ने नारालाई नारामा मात्रै नभएर व्यवहारमा पनि सबैले लागू गर्नु आवश्यक छ ।

अहिले नेपालबाट पर्यटनका रूपमा विदेशमा धेरै पैसा गएको छ । हामीले भन्न चाहिँ ‘पहिला देश’ भन्ने तर पर्यटनका नाममा विदेशमा करोडौं रुपैयाँ जाने गरेको छ । हामीले अहिले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु आवश्यक छ ।

मञ्चले दुई साताअघि मुस्ताङ लोमान्थाङमा ‘नर्थ अफ हिमालयाज’ भनेर मोटर र्‍याली गर्‍यो । स्थानीय पर्यटन प्रवद्र्धनका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं । यस्ता कार्यक्रम एक ठाँउमा मात्रै नभएर देशभरि नै आवश्यक छ । नेपालीलाई नेपालमा नै घुमाउनुपर्छ । जसले गर्दा विदेश जाने पैसा नेपालमै खर्च होस् ।

अहिले नेपालमा देखिएको विदेशी विनिमय सञ्चितिको अभाव, तरलता अभावलगायत सबैखाले समस्या केही हदसम्म समाधान गर्न भए पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु आवश्यक छ ।

देशलाई समृद्धिको बाटोमा लैजाने हो । पर्यटन उद्योगमा पनि ध्यान दिनु आवश्यक छ । पर्यटनका नाममा विदेश जाने पैसा रोकेर आन्तरिक पर्यटन प्रवद्र्धनमा बढावा दिनैपर्छ । यसमा राज्यको पनि चासो हुनुपर्छ । स्रोत र साधन नभएका स्थानीय तहमा स्रोत र साधन पुर्‍याउनु आवश्यक छ ।

कोरोनापछि

कोरोना महामारीले नेपालमा पर्यटन, आतिथ्य सत्कार, उत्पादनमूलक क्षेत्रलाई निकै असर पारेको छ । यीबाहेक क्षेत्रमा असर परेको छ ।

यस्ता क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै त्यस्ता क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने र अझ नयाँ सोच, योजनासाथ अघि बढ्नु आवश्यक छ । त्यसमा सरकारको अग्रसरता आवश्यक छ ।

यसअघि सरकारले यी र यस्ता कतिपय क्षेत्रमा सहुलियत पनि दिएको हो । त्यो सहुलियत पर्याप्त भएन । सरकारले जे अपेक्षासाथ काम गर्‍यो, त्यो पूरा नहुँदै हात झिक्यो ।

प्रतिफल देखिएन भने त्यो लगानीको औचित्य कति होला भन्ने प्रश्न पनि आउन सक्छ । तसर्थ, राज्यले जे सोचेर, जे पाउने अपेक्षा गरेर लगानी गरेको हुन्छ, त्यो पूरा गर्नपर्छ । यस्ता क्षेत्रमा दिर्घकालीन योजना बनाउने हो भने देशलाई समृद्धिको मार्गमा लैजान सजिलो हुन्छ । त्यसका लागि नविनतम सोच आवश्यक छ ।

रेमिट्यान्स

देशलाई समृद्धिको बाटोमा लैजाने भन्ने अनि युवाजति विदेश गएर हुँदैन । अहिले रोजगारीका लागि विदेश रहेका युवाले पठाएको रेमिट्यान्सले बढी र केही भन्सार राजस्वले देश चलेको छ । यसले सधैं पुग्दैन । देश विकास गर्ने हो भने पर्यटन, आतिथ्य सत्कार, उत्पादनमूलक उद्योगमा लगानी बढाउनैपर्छ । सधैं अरूको भरमा देश चल्दैन ।

काम गर्ने युवा बाहिरमात्रै जाने हो भने यहाँ कसले काम गर्ने? विदेशमा पाउने सेवा सुविधा नेपालमा नै दिने हो भने विदेश नै विकल्प होइन । त्यसतर्फ राज्यको ध्यान जान धेरै ढिला भएको छ । देश विकास गर्न श्रमशक्ति आवश्यक पर्छ । अहिले नेपालमा भएका श्रमशक्ति, युवाशक्ति विदेशिनुपर्ने बाध्यता रहेको छ । उनीहरूलाई स्वदेशमा नै रोजगारी दिनुपर्छ ।

नेपालमा उत्पादन बढाउने हो भने राज्यले अहिलेको अवस्थामा भन्सारमा अनुदान वा छुट दिने कि? (जसले गर्दा काम गर्न राज्यले हामीलाई सहयोग गरेको छ भनेर उत्साह बढोस्), नेपालमा आयात हुने कच्चापदार्थमा केही सहुलियत दिन सकिन्छ कि? त्यसतर्फ राज्यले ध्यान दिने बेला भएको छ । जसले गर्दा काम गर्न उत्साह बढोस् ।

नयाँ बन्ने सरकार र समृद्धिको यात्रा

आमनिर्वाचनपछि आएको मतपरिणाम हेर्दा मानिसमा धेरै नै आसा देखिएको छ । सबैको ध्यान युवापुस्तामा परेको छ । नेपालमा ४१ प्रतिशत युवा छन् । अब भने देशले नीति निर्माण तहमा पनि धेरै नै युवा पाएको छ ।

अहिलेसम्म नेपालमा स्थिर नीति छैन । यो समस्या हो । छोटो–छोटो समयमा सरकार परिवर्तन हुने गरेको छ । नेपालका राजनीतिक दलले देशलाई आर्थिक विकासमा लैजानुभन्दा पनि आन्तरिक किचलोतर्फ मात्रै लैजाने काम भयो । भैतिक पूर्वाधारमा पर्याप्त काम हुन सकेको छैन । अन्य क्षेत्रमा पनि अवस्था उस्तै छ । सबैतिर निराशामात्रै देखेर युवामा सबैको ध्यान गएको हो ।

अहिले सबै राजनीतिक दलले आफूसँग भएका युवालाई अग्रसर गराउने समय आएको छ । अबको समयमा युवाको सोच, योजना अघि ल्याएर काम गर्ने बेला आएको छ ।

अहिलेसम्मको व्यवस्थाले निजी क्षेत्र निकै निराश छ । राजनीतिक क्षेत्रमा युवाको प्रवेशले केही सुधारको अपेक्षा गर्न सकिन्छ । सबैको ध्यान भनेको देशलाई कसरी समृद्ध बनाउने भन्नेतर्फ हुनुपर्छ । त्यही अनुसार ऐन, कानुन निर्माण गर्नु आवश्यक छ । भौतिक पूर्वाधार पनि त्यहीअनुसार बनाउनुपर्छ ।

काम गर्ने वातावरण पनि त्यहीअनुसार हुनु आवश्यक छ । त्यसका लागि धेरै ढिला भएको छ । यो काम गर्ने बेला हो । देश विकास गर्न राजनीतिक दलले ल्याएका घोषणापत्र पूर्णरूपमा कार्यान्वयन गर्ने हो भने पनि पर्याप्त हुनेछ ।

कृषि क्रान्ति
नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान भनेर पुरानै शैलीमा चलिरहेको छ । कृषिमा युवाको प्रत्यक्ष संलग्नता कम छ । प्रविधि भित्रिन सकेको छैन ।

कृषि क्षेत्रलाई प्राथमिकता दिने भनेर राज्यले सहुलियतपूर्ण कर्जा दिने भनेको छ । त्यो पाउन धेरै गाह्रो छ । त्यो लिन लाग्ने झन्झट र समय सम्झेर आफूसँग भएको जायजेथा बिक्री गरेर आएको पैसा लगानी गर्नुपर्ने अवस्था छ । यसका लागि सहज सेवा लिने व्यवस्था गर्ने हो भने यसतर्फ राम्रो काम गर्नेको अपेक्षा बढ्ने थियो । उक्त पैसा राम्रो काममा सदुपयोग हुने थियो ।

सरकारले कृषि क्षेत्रको विकास गर्ने हो भने सीप विकासका लागि खर्च गर्नु आवश्यक छ । सीप विकास र तालिमका लागि बजेट जाने पनि गरेको छ । तर, गाँउ–गाँउमा आवश्यक तालिम जान सकेको छैन ।

अहिले त्यो शीर्षकमा जाने बजेट अन्यत्र प्रयोग भइरहेको छ । यसमा प्रदेश र स्थानीय सरकारले अझै बढी काम गर्न सक्नेछन् । जसले गर्दा नेपालमा उत्पादन हुने वस्तु आयात गर्न नपरोस् । त्यसो भयो भने नेपालले क्रमैसँग समृद्धिको बाटो तय गर्ने छ ।

कुनै मानिसमा ‘स्टार्टअप’ का लागि नयाँ योजना छ भने त्यसलाई मञ्चले सहयोग गर्छ । हामीसँग त्यो क्षमता छ । हामीसँग भएको क्षमता प्रयोग गर्न सरकार चाहन्छ भने पनि हामी तयार छौं । राज्यले गर्ने काममा होस्टेमा हैंसे गर्न हामी तयार छौं । कृषि क्रान्तिका लागि आधुनिक उपकरण ल्याउनु आवश्यक छ । नेपालबाट निर्यात हुने हस्तकला सामग्रीमा सहुलियत दिनु आवश्यक छ ।

यो देश विकास गर्ने हो भने युवाको आवाज राज्यले सुन्नु आवश्यक छ । युवाको योजना कार्यान्वयन गर्नु आवश्यक छ । राज्यले लिने विभिन्न सुझावका समयमा नेपाली युवा उद्यमी मञ्चलाई पनि राज्यले सम्झनु आवश्यक छ ।

अहिलेको समय भनेको सूचना र प्रविधिको समय हो । अहिले हामीले प्रविधि प्रयोग गरेर धेरै काम एकै ठाँउ बसेर वा धेरै परिश्रम नगरी काम गर्न सक्छौं । यसतर्फ राज्यको ध्यान जानु आवश्यक छ । प्रविधि प्रयोग गरेर काम गर्ने हो भने थोरै लागतमा धेरै लाभ लिन सकिन्छ ।

अहिले उद्योगी–व्यवसायीले यसको प्रयोग बढाएका छन् । यो विषयमा निजी क्षेत्रमा निकै चर्चा हुने गरेको छ । युवा पुस्ताले यसलाई अझै नयाँ सोचसाथ काम गर्न खोजिरहेको छ । त्यसका लागि उद्योग वाणिज्य महासंघले पनि सहयोग गर्ने गरेको छ ।

अहिलेका अध्यक्ष शेखर गोल्छाले युवाको कुरा सुन्ने, युवाको ‘आइडिया’ सुन्ने र प्रयोगमा चासो देखाउने, काम गर्न प्रोत्साहन पनि गरिरहनुभएको छ । नयाँ–नयाँ प्रविधिबारे आइडिया ‘सेयर’ हुने गरेको छ । यसले युवालाई उ्रत्साहित पनि गर्ने गरेको छ ।

राज्यले पनि युवा पुस्तालाई विश्वास गर्नु आवश्यक छ । अब पनि पुरानो मानिसकिता राखेर काम गरेर हुँदैन । विदेशमा यसको अभ्यास निकै राम्रो छ ।

नेपालमा युवा उद्यमशिलता राम्रोसँग विकास नहुनुको अर्को समस्या भनेको यो पनि हो । हरेक नीति निर्माण, बजेट निर्माणलगायत काममा युवा सहभागिता हुनु आवश्यक छ । त्यो भयो भने युवाले पुरानो पुस्ताको अनुभव लिने र उहाँहरूले युवाको नयाँ योजना सुन्न पाउनुहुने छ । त्यो कुरा व्यवहारमा कार्यान्वयन हुने हो भने यो देश समृद्धितर्फ जान निकै सहयोग पुग्ने छ ।

(सेजन स्मारिक–२०७९ मा प्रकाशित नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष लामिछानेको लेख)


क्लिकमान्डु