सरकार तथा राष्ट्र बैंकविरूद्ध नाडाले आजबाट चरणबद्ध आन्दोलन गर्ने



काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकार तथा राष्ट्र बैंकविरूद्ध चरणबद्ध आन्दोलन गर्ने भएको छ।

नाडाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार तथा राष्ट्र बैंकको नीतिका कारण समस्यामा परेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

नाडाका उपाध्यक्ष सुनिल रिजालले नाडाका व्यवसायीहरू विभिन्न कार्यक्रम गरेर आन्दोलनमा जाने बताए । व्यवसायीले फेसबुक, इन्टाग्राम र ट्वीटरमा प्रोफाइल पिक्चर बनाउने, नाराहरू व्यवसायीहरूले चढ्ने गाडीमा आजैबाट अगाडि पछाडि टाँसेर हिँड्ने र नाराहरूलाई व्यानर बनाएर सोरूममा टाँस्ने लगायतको काम गर्ने उनले बताए ।

त्यसैगरी, आगामी २२ गतेबाट सम्पूर्ण व्यवसायीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजेदेखि २ बजेसम्म काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बस्ने र सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रम बस्ने नाडाले जनाएको छ ।

सो अवधिसम्म पनि माग सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणाको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने उनले बताए ।

नाडाले सत प्रतिशत मार्जिन व्यवस्था खारेज, ब्याजदर नियन्त्रण, मौद्रिक नीति परिमार्जन, गाडी आयात फुकुवा, चालु पूँजी मार्गदर्शन खारेज, ५० प्रतिशत नगद मार्जिन खारेजी लगायत अन्य विभिन्न माग समेटिएका व्यानरसहित बिरोध गर्ने जनाएको छ।

सरकारले बजारमा तरलता अभाव भएको भन्दै विभिन्न चरणमा आयातमा कडाइ गर्दै आएको छ । सुरूमा सरकारले पुस ५ गते २० वटा वस्तुमा १०० प्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवसथा गरेको थियो । त्यस्तै दोस्रो चरणमा ४७ वटा वस्तुमा मार्जिनको व्यवस्था गरेको थियो । साथै, मार्जिनको व्यवस्थाले पनि अपेक्षित आयात घट्न नसकेपछि सरकारले वैशाख १३ गते १० वटा वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । उक्त प्रतिबन्ध हालसम्म पनि कायम नै छ ।

सरकारले चरणवद्ध रूपमा आयातमा कडाइ गरेकोमध्ये सबैभन्दा धेरै प्रभाव अटोमोबाइल क्षेत्रमा परेको नाडाको भनाइ छ । त्यसैले व्यवसायीहरूले विभिन्न समयमा सरकारसँग छलफल गरे पनि अवस्था सहज नबनाएकाले आन्दोलन गर्न बाध्य भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

उनकाअनुसार विगत एक वर्षदेखि अटोमोबाइल क्षेत्रमा कडाइ गर्दै आएको छ। ‘शुरूमा ५० प्रतिशत मार्जिनको व्यवस्था गर्यो र पछि आएर प्रतिबन्ध गर्यो । साथै, बैंक तथा वित्तिय संस्थाहरूको जोखिम भार ७५ प्रतिशत रहेकोमा अहिले १५० प्रतिशत भएको बढाएको छ । साथै, ब्याजदर ह्वात्तै बढाएकाले व्यवसायी धारासायी बन्दै गएकाले दबाबमुलक कार्यक्रम घोषणा गरेको हो’ उनले भने ।

हालसम्ममा सरकार र राष्ट्र बैंकको नीतिले करिब ३० प्रतिशत रोजगारी खुम्चिएको उनको भनाइ छ । साथै, ५८ वटा शाखा बन्द भइसकेको र १०० वटा बन्द हुने क्रममा रहेकले आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

नाडाले आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्न माग गरेको छ । त्यस्तै, नाडाले चालु पूँजी कर्जाको मार्गदर्शन परिमार्जन गर्न, मार्जिनको व्यवस्था हटाउन, व्याज तथा प्रिमियम दरलाई नियन्त्रणमा राख्नका लागि आवश्यक व्यवस्था गर्न, अटोलोन / हायर पर्चेज कर्जामा ७५ प्रतिशत कायम गर्न माग गरेको छ ।

त्यसैगरी, बैंकहरूको तरलता अभावलाई सहज बनाउन सीडी रेसियोलाई पुनरावलोकन गर्नुपर्ने सुझाव नाडाले दिएको छ । साथै, हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशत कायम गर्नुपर्ने र ब्याजदरमा विशेष सहुलियत व्यवस्था गर्न थापाले माग गरे ।


क्लिकमान्डु