मदिरा र सुर्तीजन्य उद्योगले माघ १ गतेबाट अनिवार्य ई–बिलिङबाट कारोबार गर्नुपर्ने



सांकेतिक तस्बिर

काठमाडौं । मदिरा र सुर्तीजन्य उद्योगले आगामी माघ १ गतेबाट अनिवार्य विद्युतीय माध्यमबाट बीजक (ई–बिलिङ वा कम्प्यूटर बिलिङ) बाट कारोबार गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै माघ १ गतेबाट मदिरा, वियर, वाईन, स्प्रिट उत्पादन गर्ने सबै प्रतिष्ठानहरु, चुरोट उत्पादन गर्ने सबै प्रतिष्ठानहरु, गुट्खा उद्योगहरु र गत आर्थिक वर्षमा वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगहरुले अनिवार्य ई–बिलिङबाट कारोबार गर्नुपर्ने जनाएको छ ।

विभागअनुसार आर्थिक वर्ष २०७७/७८ वा २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा विवरणमध्ये कुनै एक आर्थिक वर्ष कारोबार रकम १० करोडभन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरु र बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु (काठमाडौं उपत्यका बाहिरका समेत) ले अनिवार्य ई–बिलिङको गरिसकेको छ ।

विभागले गत साउन १ गतेबाट उक्त क्षेत्रमा ई–बिलिङको व्यवस्था गरेको थियो । त्यस्तै, विभागले २०७५ फागुन २९ गतेदेखि लागू हुने गरी वार्षिक ५ करोडभन्दा बढीको होटल, रेष्टुरेन्ट तथा चमेनागृह र इन्टरनेट सेवा प्रदायक (आएसपी) को कारोबार गरेका कम्पनीहरुलाई ई–बिलिङको व्यवस्था गरेको थियो ।

त्यस्तै, वार्षिक १० करोडभन्दा बढी कारोबार गरेका डिपार्टमेन्ट स्टोर, मार्ट र फ्लोरिङ तथा फर्निसिङको कारोबार गर्ने कम्पनीहरु र बक्स अफिस प्रणालस्मा आबद्ध काठमाडौं उपत्यका भित्रको सिनेमा हलहरुलाई ई–बिलिङको व्यवस्था गरेको थियो । विभागले थप अहिले मदिरा र सुर्तीजन्य उद्योगहरुलाई ई–बिलिङको व्यवस्था गरेको हो ।

विभागअनुसार तोकिएका कारोबार गर्नेबाहेकका जुनसुकै करदाताले अनुमति लिई स्वेच्छिक रुपमा विद्युतीय विजक जारी गर्न सक्नेछ । तर, यसभन्दा अगाडि अनुमति लिई विद्युतीय विजक जारी गरिरहेका करदाताहरुले पुनः अनुमति लिनुपर्ने छैन । साथै, विद्युतीय माध्यकबाट बीजक जारी गर्ने व्यक्तिले विभागमा सूचीकरण गरिएका विद्युतीय उपकरण तथा सफ्टवेयरहरु मात्र प्रयोग गर्नुपर्नेछ ।


क्लिकमान्डु