तीन महिनामा पौने ८८ अर्बको लगानी प्रतिबद्धता, वैदेशिक लगानी २ अर्ब मात्रै



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अवधिमा उद्योग विभागमा ८६ वटा उद्योग दर्ता भएका छन् । उक्त दर्ता भएको उद्योगहरुले ८८ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ८७ अर्ब ८५ करोड रुपैयाँको लगानीको प्रतिबद्धता जनाएको हो । दर्ता भएको उद्योगबाट ५ हजार ९३५ जनाले रोजगारी पाएका छन् ।

दर्ता भएका उद्योगमध्ये ठूला उद्योगको संख्या २६ वटा, मझौला उद्योग ३१ वटा र साना उद्योगको संख्या २९ वटा छन् । गत वर्षको सोही अवधिमा देशभर ठूला २६ वटा, मझौला ३४ वटा र साना २७ वटा गरी कुल ८७ वटा उद्योग दर्ता भएका थिए ।

उक्त उद्योगबाट १ खर्ब २२ अर्ब रुपैयाँको लगानीको प्रतिबद्धता जनाइएको थियो । साथै, ८ हजार १३४ जनाले रोजगारी पाउने प्रतिबद्धता थियो ।

गत वर्षको तुलनामा यो वर्ष कम लगानी भएका उद्योग धेरै दर्ता भएको देखिन्छ । त्यस्तै, तीन महिनाको अवधिमा विभिन्न देशबाट वैदेशिक लगानी भित्रिएको छ ।

विभागअनुसार तीन महिनाको अवधिमा २ अर्ब २४ करोड रुपैयाँ विदेशी लगानीमा १९ वटा उद्योग दर्ता भएका छन् । उक्त उद्योगले १ हजार ४३ जनालाई रोजगार दिनेछ ।

त्यसैगरी, पहिलो त्रैमासिकको अवधिमा उद्योग विभागमा विभिन्न वस्तु तथा सेवाका १ वटा प्यारेन्ट, १ वटा डिजाइन र ९३१ वटा ट्रेडमार्क दर्ता भएका छन् ।


क्लिकमान्डु