तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ



काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् ।

निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्नुभयो भन उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए । उनी संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए । उनी २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा-४ बाट विजयी भएका थिए ।

जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व.मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मिएका महासेठ हाल नख्खु, ललितपुरमा बस्छन् । उनकी पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी छन् । उनले बि.ई (सिभिल इन्जिनियरिङ) अध्ययन गरेका छन् ।

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (अनरास्ववियु) मा २०२८/०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गरेका थिए । उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएका थिए ।

वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गरेका थिए भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गरेका थिए । उनी विंस २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य बनेका थिए ।

महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गरेका थिए ।

उनले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेका थिए । राजनीतिक घटनाक्रमका क्रममा उनी २०२८/०२९ को संघर्षको क्रममा २७ दिन थुनामा थिए । राजनीतिक आन्दोलनको क्रममा पटक/पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसकेका छन् ।


क्लिकमान्डु