मौद्रिक नीतिको समीक्षाबारे विराटनगरका उद्योगी-व्यवसायी असन्तुष्ट



विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका क्रममा गरेको संशोधनबाट विराटनगरका उद्योगी व्यवसायी असन्तुष्ट भएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा क्रममा भएको आंशिक संशोधनबाट उद्योग व्यवसायीका आंशिक मागमात्र पूरा भएको बताए ।

‘यसबारे अझै हेर्न र समीक्षा गर्न बाँकी नै रहेको छ’ नेपाल उद्योग परिसंघ (सीएनआई) युवा उद्यमी मञ्च (वाईईएफ) ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘तर हाम्रा सबै माग पूरा नभएको कारण छलफल गरेर फेरि सडकमा आउने स्थिति पनि हुन सक्छ ।’ यसअघि उद्योगी व्यवसायीहरूको आन्दोलनबाट नीतिगत भ्रष्टाचार भएको साढे ३ अर्ब रूपैयाँ फिर्ता गराउन सफल भएको उनले दाबी गरे ।

संगठित युवा शक्तिको काँधमा अब १४ लाख उद्यमी, व्यवसायीहरूको हित रक्षा गर्ने जिम्मेवारी आइपरेको उनको भनाइ छ ।

सरकारले विदेशबाट ऋण ल्याएर खर्च गर्ने प्रवृत्ति रोक्न युवा उद्यमीहरूले सशक्त भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

सीएनआई प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले मौद्रिक नीतिमा गरिएको स्प्रेटदरको संशोधनबाट उद्योगी व्यवसायीलाई केही फाइदा नपुग्ने भन्दै झारा टार्ने काम भएको बताए । उद्योगी व्यवसायीलाई अल्मल्याउने काम भएकोले मान्य नहुने उनको भनाइ छ ।

‘अब नवनिर्वाचित सरकार बनेपछि तीनवटा संस्था मिलेर पुनः सडक आन्दोलन घोषणा गर्नेछौं’, उनले क्लिकमाडूसँग भने .

घिमिरेले सरकारले उद्योग व्यवसायलाई संरक्षण नगरे पनि धेरै जना उद्यमीहरूका छोरोछोरीहरू पछिल्लो समय उद्यमशिलता र संस्थागत नेतृत्वमा आउनु सकारात्मक पक्ष रहेको धारणा राखे ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले राष्ट्र बैंकले आफूहरुले राखेका मागहरुमध्ये आंशिक पूरा गरेको बताए । उनले स्प्रेटदर घटाइनु सकारात्मक रहेको बताए ।

‘यसले केही हदसम्म राहत मिलेको छ । यसले अब प्रिमियम र व्याजदर बढ्दैन । संशोधनमा बजारमा तरलता अभाव हुन नदिने र स्प्रेटदरलाई सुझाबका आधारमा क्रमशः घटाउँदै लगिने भनेर प्रतिवद्धता जनाइएकोले अरु विषयमा पनि सुधार हुँदै जान्छ भन्ने आशा गर्ने ठाउँ छ’ उनले भने ।

उनले युवा उद्यामीहरूले फुटेर होइन जुटेर काम गर्न सके देशको विकासमा टेवा पुग्ने सुझाब दिए । यसका लागि उद्यमी संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनको धारणा थियो । राजनीतिक नेताहरूलाई गाली गरेरमात्र युवाको दायित्व पूरा नहुने बताउँदै उनले भने ‘तथ्य, तर्क र प्रमाणका आधारहरू प्रस्तुत गर्न युवा लाग्नु पर्दछ ।’

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष किशोर प्रधानले युवाहरूले अहिलेको राजनीतिमा देखा परेको फोहोर सफा गर्न लागेमात्र देशमा उद्योगधन्धा फस्टाउन सक्ने बताए । सबै युवा विदेश पठाएर बुढाहरूले मात्र देश चलाउने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको उनले भनाइ राखे ।

सीएनआई वाईईएफको प्रदेश १ समितिको अध्यक्ष अनमोल प्रधानले युवा उद्यमीहरूलाई नयाँ पुस्ताको नेतृत्व प्रधान गर्नमा पुरानो पुस्ताको त्याग र समर्पण भएको बताए । उनले भने उद्यमशिलताको विकासका पक्षमा नीति तय गर्न युवा उद्यमी व्यवसायीले सरकारलाई रचनात्मक दबाव दिने भनाइ राखे ।

यसैबीच सीएनआई वाईईएफको प्रदेश १ समिति गठनबारे सार्वजनिक गरिएको छ । समितिमा सुशील प्रधान, शशांक बंसल, सोनाम शेर्पा, विशाल मित्तल, मुनान रिजाल, रजत साहलगायत ३५ जना छनोट छन् । यो प्रदेश १ को पहिलो समिति भएको बताइएको छ ।


क्लिकमान्डु