तेह्रथुमः कांग्रेसकी सीता गुरुङले एमालेका बिजय शुब्बालाई पछि पारिन्



काठमाडौं । तेह्रथुमको मत गणनाको परिणाम निकै प्रतिस्पर्धात्मक तथा रोचक छ । घरी एमालेका बिजय शुब्बा अघि लाग्छन् भने घरी कांग्रेसकी सीता गुरुङ ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो नतिजाअनुसार कांग्रेसकी गुरुङ एमालेका उम्मेद्वार सुब्बाभन्दा ४३ मतले अगाडि लागेकी छन् । हालसम्मको परिणामअनुसार गुरुङले ११९७९ मत ल्याएकी छन् भने सुब्बााले ११९१९ मत ल्याएका छन् ।

जिल्लाका ६ वटा पालिकामध्ये ३ वटाका मत गणना सकिएको छ भने अहिले ३ वटाको गणना भइरहेको छ । सदरमुकाम म्याङलुङ नगरपालिकाको मत गणना हुँदा सुब्बाले गुरुङलाई ५३९ मतले पछि पारेका थिए । म्याङलुङ नगरपालिकासहित छथर र लालिगुराँस गाउँपालिकाको मत गणना भइसकेको छ ।

अहिले आठराई, फेदाप र मेन्छ्याम गाउँपालिकामा मतगणना भइरहेको छ । यो क्षेत्रमा एमालेको भन्दा कांग्रेसको मत केही बढी रहेको अनुमान छ ।

जिल्लामा ४१ हजार १८० जनाले मतदान गरेका थिए ।

बिजय सुब्बा एमालेबाट २०५६ सालमा सांसद निर्वाचित भएका थिए भने सीता गुरुङ पहिलोपटक सांसदको चुनाव उठेकी हुन् ।

तेह्रथुम जिल्ला एमालेको लालकिल्ला मानिन्छ । यसअघि २०१५ र २०६४ सालमा मात्रै कांग्रेसले जितेको थियो । ०६४ सालमा कांग्रेसबाट सांसदमा निर्वाचन भएका तुलसी सुब्बाले यो पटक खुलेरै कांग्रेसकी उम्मेद्वार गुरुङलाई हराउन लागेका थिए । म्याङलुङ र छथरमा तुलसी सुब्बाको राम्रो प्रभाव क्षेत्र मानिन्छ । जिल्लाभर करीब २ हजार जति कांग्रेसका मत उनले एमालेमा हाल्न लगाएको अनुमान गरिएको छ ।


क्लिकमान्डु