चुनाव जितेपछि विनोद चौधरीले घरदैलोमा पुगेर मतदाताको सम्मान गरे



नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा बिजयी भएका बिनोद चौधरीले घरघरमै पुगेर मतदातालाई सम्मान गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेद्वार चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई भारी मतान्तरले जितेका थिए ।

चुनाव जितेपछि चौधरीले आफ्नो बिजय जुलुसमा नौलो प्रयोग गरेका छन् । चुनावअघि जसरी मत माग्न जनताको घरदैलोमा पुगेका थिए । चुनाव जितेपछि चौधरी मतदाताको घरदैलोमा पुगेर सम्मान गरेका छन् ।

‘आज दिनभर हामी नवलपरासीको विकास र सम्मृद्धिको बिजयलाई शुनिश्चित गर्नुहुने मतदाताहरुको घरदैलौमा पुगेर उहाँहरुलाई सम्मान गर्दैर्छौं,’ चौधरीले भने ।

शुक्रबार दिउँसो चौधरीले प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा गाउँको मुसहर टोलका मतदातालाई सम्मान गरेर उक्त अभियान शुरु गरिएको चौधरीले जनाए ।

चुनावअघि मतदाताले चौधरीसँग चुनाव जितेपछि फेरि फर्किएर नआउने हो कि ? भन्ने आशंका व्यक्त गरेका थिए । नवलपुरमा लामो समयदेखि औद्योगिक ग्राम सञ्चालन गर्दै आएका चौधरीलाई पार्टीले पश्चिम नवलपरासीमा उम्मेद्वार बनाएको थियो ।

चुनावी प्रचार अभियानमा चौधरीका विरोधीहरुले टुरिस्ट उम्मेद्वार भएको र चुनाव जितेपछि यो क्षेत्रमा उनी फर्केर नआउने हल्ला फिँजाउँदै हिँडेका थिए । उक्त हल्लासँगै स्थानीयहरु चौधरीप्रति शशंकित थिए ।

उक्त आशंकालाई चिर्न चौधरीले चुनाव जित्नेवित्तिकै जनताको घरदैलो मै पुगेर सम्मान कार्यक्रम राखेका हुन् । आफू उम्मेद्वार भएपछि चौधरीले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग खोल्नका लागि शिल्यानास गरिसकेका छन् ।

अहिले उनी आफूले यहीँ उद्योग खोलेको र यहाँ आइरहने कुरामा जनतालाई विश्वस्त बनाउन चाहन्छन् । साथै लामो समयदेखि अवरुद्ध विकासको मुल आफूले ५ वर्षमा फुटाउने उनको योजना स्थानीयलाई सुनाइरहेका छन् ।


क्लिकमान्डु