पाँचथर: एमालेका नेम्बाङ ४७ मतान्तरले विजयी
पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् ।
नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए ।
प्रदेशसभा(१) गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगू विजयी भएका छन् ।
नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनलले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरे ।
प्रदेशसभा (२)बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङवो विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रोपटक विजयी भएका हुन् । ३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत प्राप्त भएको छ । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका थिए ।