स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन: ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी सञ्चारमाध्यमका कृपाले उदाएको भन्दै यो समान्य विषय भएको टिप्पणी गरेका छन् ।

झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहणका लागि बिहीबार दिउँसो झापा पुगेका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मिडियाले समर्थन गरेका कारण उक्त दल उदाएको टिप्पणी गरेका हुन् । ‘स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन’ ओलीले भने ।

ओलीले निर्वाचन अघि पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव नजित्ने ठोकुवा गरेका थिए । चुनाव अघि चितवनमा आयोजित कार्यक्रममा ओलीले स्वतन्त्र पार्टीका उम्मेदवारलाई केटाकेटी नाचेको टिप्पणी गरेका थिए ।

‘यहाँ (स्टेजमा) अहिले राम्रो गीतमा राम्रो डान्सर नचाउनुभयो भने त्यहाँ (छेउमा) केटाकेटी नाच्न थाल्छन्। अनि डान्सरहरूले आत्तिनुपर्छ केटाकेटी नाचे भन्दैमा ? यहाँ त कलाकार नाच्ने हो, डान्सर नाच्ने हो। केटाकेटी त्यहाँ नाचिराख्या हुन्छन्,’ उनले भने, ‘ए बाबा के बजाएको छ? ढ्यांग्रो पनि बजाएको छैन। एउटा घन्टी पनि बजाउन नदिने ? अनि ढुंगा हान्न जाने ? केही ठूलो दमाहा, नरसिंहा बजाएको पनि होइन ।’

युवाहरू राजनीतिमा आउनु राम्रो भए पनि मंसिर ४ पछि रवि लामिछाने लगायतका उम्मेदवार कुद्न छाड्ने ओलीको भनाइ थियो । ‘युवाहरू आए, राजनीतिमा रुचि राखे, राम्रो कुरा हो। ४ गतेसम्म कुद्छन् ठीक छ नि। कति आत्तिएको होला ! कति डराएको होला ! गठबन्धन केका लागि ?’उनले भनेका थिए ।

तर, नतिजा ओलीले भने भन्दा फरक देखिएको छ । चितवनमा रविले भारी मतान्तरसहित जितेका छन् । काठमाडौंमा ४ सहित देशभर ६ ठाउँमा जित निकालेको छ ।


क्लिकमान्डु