विजयोत्सवमा उर्लियो चितवन: रवि दाइ हाईहाई, भ्रष्टाचारी बाइबाईको घन्कियो नारा



चितवन । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले निर्वाचति भएका रवि लामिछाने यतिबेला धन्यवाद सभाका लागि जाँदै छन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट लामिछाने बिहीबार निर्वाचित भएको घोषणा भएको हो । लामिछाने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएर विजयी भएका हुन् ।

विजय र्‍याली आयोजना नगर्ने भन्दै लामिछानेले त्यसको सट्टा धन्यवाद सभा आयोजना गर्ने जनाएका छन् । उनले आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा धन्यवाद सभा गर्ने जनाएका छन् र त्यसका लागि उनी त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी त्यसतर्फ जाँदै गर्दा समर्थक र मतदाताले उत्साहपूर्वक स्वागत र हुटिङ्ग गरिरहेका छन् भने लामिछानेको पक्षमा नाराबाजी गरेका छन् ।

उनलाई बधाई दिन भेला भएको भीडलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । रवि गाडीबाट मतदातालाई नमस्कार गर्दै अघि बढिरहेका छन् ।

रविका समर्थकहरुले ‘रवि दाइ हाई हाई भ्रष्टाचारी बाइबाई’, ‘हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘यो जित कसको रविको, रवि कसको जनताको’ लगायतका नारा लगाइरहेका छन् ।


क्लिकमान्डु