कर्णाली : प्रतिनिधिसभाका ६ र प्रदेशसभाका १३ स्थानको नतिजा सार्वजनिक, क-कसले जिते ?



भेरीगङ्गा । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ ६ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ ।

अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजाअनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ । सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा (एमाले)का अमृतकुमार विसी पराजित भएका छन् ।

थानीले ३४ हजार छ सय २५ मत ल्याउँदा एमालेका अमृतकुमार विसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरे ।

त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धका उम्मेद्वार नेकपा (एकीकृत समाजावादी)का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरे ।

थापाले १८ हजार दुई सय ५६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार चार सय सात मत प्राप्त गरे । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले चार हजार छ सय दुई मत प्राप्त गरिन् । दैलेख क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भए । उनले एमालेका लक्ष्मी पोख्रेललाई एक सय ५३ मतान्तरले हराए ।

यसैबीच जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका निरज आचार्य २५ हजार एक सय २० मत ल्याएर पराजित भए ।

यसैगरी सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई हराए । शाहले १९ हजार सात सय ८९ मत पाउँदा एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतसहित तेस्रो स्थानमा रहे ।

यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही भारी मतसहित विजयी भए । उनी २२ हजार आठ सय १९ मत ल्याएर विजयी भए । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोमा गौतम कुँवरलाई दश हजार आठ सय ६० मतान्तरले उनले पछाडि पारे । यस्तै सुर्खेत क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले आफ्नो अग्रतालाई बढाउँदै गएका छन् भने मुगु, हुम्ला र डोल्पामा अहिले मतगणना जारी छ ।

प्रदेशसभातर्फ १३ ठाउँको नतिजा सार्वजनिक

कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । त्यसमा गठबन्धनको वर्चस्व देखिएको छ । अन्तिम नतिजा सार्वजनिक भएका क्षेत्रमा तीन ठाउँमा एमालेले जित निकालेको छ भने अरु १० ठाउँमा सत्ता गठबन्धका उम्मेदवार निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं २ (२) मा एमालेका यामलाल कँडेल विजयी भएका छन् ।

कँडेलले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार चार सय मत ल्याएर पराजित भए । यस्तै दैलेख क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् ।

उनले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरे । उनले नौ हजार चार सय ६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे ।

यस्तै त्यही क्षेत्रको प्रदेशसभा (२) तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार विसी विजयी भए । उनले १० हजार पाँच सय ४४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले नौ हजार चार सय ६८ मत पाए ।

यस्तै दैलेख क्षेत्र नं २ (१) तर्फ पनि नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भए । एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले उनले पराजित गरेका हुन् ।

भण्डारीले १० हजार आठ सय मत पाउँदा एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गरे। जाजरकोट प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् ।

सिंहले १८ हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गरे ।

जाजरकोटकै प्रदेशसभाअन्तर्गत (२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार पाँच सय ३० मत पाए ।

कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजङग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गरे । जुम्ला प्रदेशसभा (१) मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीलाई एक हजार आठ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भएका हुन् ।

यस्तै जुम्ला प्रदेशसभा–२ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका छन् ।

कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारीमन्त्री रोकायलाई पछाईले पराजित गरेका हुन् । पछाई सात हजार आठ सय १५ मतले विजयी भए ।

रोकायले छ हजार सात सय २२ मत प्राप्त गरे । पछाई एमाले प्रदेश कमिटी उपसचिव हुन् । यस्तै सल्यानमा पनि सत्ता गठबन्धनकै उम्मेदवार प्रदेशसभामा निर्वाचित भएका छन् । कर्णाली प्रदेशभरको नतिजा शुक्रबार साँझसम्म आइसक्ने आकलन गरिएको छ ।


क्लिकमान्डु