भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन उम्मेदवार विजयी



भोजपुर । मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ बाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवा निर्वाचित भएका हुन् ।

नेकपा (एमाले)का उम्मेदवारलाई पछि पार्दै राई र बान्तवाले विजय हासिल गरेका छन् । प्रदेशसभा १ मा मुख्यमन्त्री राईले १६ हजार एक सय १० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गरे ।

प्रदेशसभा १ मा ६४ हजार दुई सय ३६ कूल मतदाता रहँदा ३२ हजार तीन सय ३२ मत खसेको थियो भने ३० हजार नौ सय ९२ सदर र एक हजार तीन सय ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

प्रदेशसभा २ तर्फ बान्तवाले १३ हजार पाँच सय ७९ मत ल्याउदा प्रतिस्पर्धी एमालेका खडगबहादुर कार्कीले १२ हजार आठ सय २८ मत पाए ।

सो क्षेत्रमा कूल ५९ हजार एक सय ४३ मतदाता रहेकोमा २९ हजार चार सय ७४ मत खसेको थियो । जसमा २८ हजार तीन सय २५ सदर र एक हजार एक सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।

समानुपातिकको मत पेटिकामा केही मत परेको हुनसक्ने भएकाले सो गणना भन्दा अगाडि औपचारिक घोषणा भने नगरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ भने मतगणना जारी छ । सो मतगणना पनि चाँडै सक्ने गरी गणना भइरहेको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए ।

भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८१ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो । भोजपुरमा प्रतिनिधिसभा तर्फ १२, प्रदेशसभा १ मा ७ र प्रदेशसभा २ मा ६ जना गरी २५ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।


क्लिकमान्डु