‘म्यान अफ दि इलेक्सन’ बने रवि लामिछाने, यी हुन् धेरै मतान्तरले जित्ने उम्मेदवार



काठमाडौं । चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सर्वाधिक मतान्तरले जित्ने उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभा निर्वाचन पश्चात भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनी हालसम्मकै सबैभन्दा धेरै मतान्तरले जित्ने उम्मेदवार बनेका हुन् ।

उनले आफ्ना प्रतिस्पर्धिसँग ३४ हजार १६२ मतको मतान्तर राखेका छन् । लामिछानले कुल ४९ हजार २६१ मत पाइरहँदा उनका प्रतिस्पर्धिका रुपमा देखिएका कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका थिए ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनपछि भएको मतगणनामा लामिछाने सबैभन्दा धेरै मतान्तरले जित्ने उम्मेदवार बनेका छन् । हालसम्म भएको मतगणनामा लामिछानेपछि नेककिपाका प्रेम सुवाल, एमालेका केपी शर्मा ओली, जनमत पार्टीका चन्द्रकान्त (सिके) राउत र कांग्रेसका विश्वप्रकाश शर्मा रहेका छन् ।

दोस्रो स्थानमा सबैभन्दा धेरै मतान्तर भक्तपुर-१ बाट निर्वाचित नेमकिपाका उम्मेदवार प्रेम सुवालको छ । उनी र उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज गेलालबीच ३० हजार ७९३ को मतान्तर देखिएको छ ।

सुवालले कुल ४२ हजार ७६१ मत प्राप्त गरेका छन् भने गेलालले ११ हजार ९६८ मतमा चित्त बुझाउनु परेको छ ।

त्यस्तै, तेस्रो स्थानमा धेरै मतान्तर राख्दै झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जित निकालेका छन् । उनले आफ्नो निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ को मतान्तरले हराएका छन् ।

ओलीले कुल ५२ हजार ३१९ मत पाएका छन् भने खधिकारीले २३ हजार ७४३ मत पाएका छन् ।

चौथो स्थानमा धेरै मतान्तर राख्दै निर्वाचित हुने उम्मेदवारमा जनतम पार्टीका सिके राउत रहेका छन् । सप्तरी-२ बाट निर्वाचित राउतले आफ्ना निकटतम् प्रतिस्पर्धी जसपाका उपेन्द्र यादवलाई १८ हजार ६३ मतले हराएका छन् ।

राउतले ३५ हजार ४२ मत पाउँदा यादवले १६ हजार ९७९ मतमा चित्त बुझाउनु परेको छ ।

त्यस्तै, पाँचौ स्थानमा धेरै मतान्तर राख्दै झापा-१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका अग्नीप्रसाद खरेलसँग १४ हजार २७५ मतको अन्तर राखेका छन् ।

शर्माले ३९ हजार ६२४ मत प्राप्त गर्दा खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु