चालु आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन् ।

बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका हुन् ।

घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताए । उनले १५ हजार मेगावाट विद्युत् उत्पादन पुग्दा करिव ५ अर्ब रुपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने बताए । उनले जलविद्युत् उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने बताए ।

उनले सरकारलाई वार्षिकरुपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजश्व तिर्ने गरेको बताए । उनले विद्युत् प्राधिकरणले एउटा जलविद्युत आयोजनाबाट करिव ७० करोड रुपैयाँ राजश्व तिर्ने गरेको बताए । घिसिङले १५ वर्ष नाघेका धेरै जलविद्युत आयोजनाहरु रहेकाले १० प्रतिशतले राजश्व बढेको बताए ।

उनले भने ‘नेपाल विद्युत् प्राधिकरणमा १५ वर्ष नाघेका प्रोजेक्टहरु धेरै छन् । काली गण्डकी हामीले १५ वर्ष मागेपछि रोयल्टी नै हामीले १० प्रतिशत तिर्नुपर्छ । क्यापासिटी रोयल्टी हामीले हजार रुपैयाँ पर किलोवाट तिर्नुपर्छ गर्दा करिव ७० करोड त हामीले एउटा प्रोजेक्टले तिर्नुपर्दो रहेछ । करिव १ अर्ब ७० करोड हामीले प्राधिकरणको प्रोजेक्टहरुले मात्रै रोयल्टी तिर्दा रहेछौँ । अहिलेको व्यवस्था अनुसार रोयल्टीको हिसाव गर्दा १५ वर्ष २ प्रतिशत इनर्जी रोयल्टी र १०० रुपैयाँ क्यापासिटी रोयल्टी छ । १५ वर्षपछि १० प्रतिशत रोयल्टी र हजार रुपैयाँ क्यापासिटी रोयल्टी छ । करिव १० गुणाले बढ्छ, एक्सपर्टमा पनि त्यही हिसावले बढेको छ । कर्पोरेट ट्याक्समा पहिलो १० वर्ष निःशुल्क छ । त्यसपछि ५ वर्ष १० प्रतिशत छ । त्यसपछि २० प्रतिशत छ । यसरी हेर्दा करिव १५ वर्षपछिका प्रोजेक्टहरु अब ३ हजार मेगावाट त हुँदैछ । यो वर्ष नै करिव ३ हजार मेगावाटको क्यापासिटी हुन्छ नेपालमा । हामी ५/६ वर्षभित्र करिव १०/१५ हजार मेगावाट क्यापासिटी हुन्छ भनेर क्यालकुलेशन गरेका छौँ । ३ हजार मेगावाट मात्रै भयो भनेपनि करिव ५० अर्बको हामीले रोयल्टी तिर्दा रहेछौँ । अर्को ५० अर्ब कर तिर्दा रहेछौँ । करिव १ खर्बको हामीले ३ हजार मेगावाटले तिर्दा १५ हजार मेगावाट नेपालमा उत्पादन भयो भने करिव ५ खर्ब रुपैयाँ हाइड्रोपावरको रोयल्टी र ट्याक्समात्रै आउने देखिन्छ । विदेशमा एक्सपर्ट हुने प्रोजेक्टले पनि त्यो भन्दा अलि बढी तिर्ने हो । हाइड्रोपावरको जति प्रवद्र्धन भयो कर र रोयल्टीको हिसावले नेपाललाई धेरै नै योगदान गर्ने देखिन्छ । २÷३ वर्षपछि ५ हजार मेगावाटको बन्छ, यो वर्षमा नै ५ महिना जतिमा लगभग ११ अर्ब जतिको एक्सपर्ट गरेका छौँ । पहिला यति समयमा ११ अर्ब जतिको किन्थ्यौँ भने अहिले बेच्छौँ । त्यसैले देशको समृद्धिको लागि उर्जा धेरै महत्वपूर्ण विषय हो ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरुको प्रवद्र्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने बताए । उनले ३ वर्षभित्र ५ हजार मेगावाट उत्पादन क्षमता बन्ने बताए । उनले चालु आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत् ११ अर्ब आम्दानी गरेको बताए । उनले जलविद्युत् मुलुकको समृद्धिको लागि महत्वपूर्ण रहेको बताए ।


क्लिकमान्डु