भारतीय सञ्चारमाध्यममा रवि लामिछानेबारे चर्चा, एक पत्रकारले कसरी बजाए पुराना नेताको ‘घण्टी’ ?



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मतगणना जारी रहेको छ । यस निर्वाचनमा ६ महिना अघि पत्रकारिता छोडेर राजनीतिमा होमिएका रवि लामिछानेले खोलेको पार्टीले जबरजस्त उपस्थिति जनाएको छ ।

जारी मतगणनामा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरुको घण्टी बजाइरहेको छ । घण्टीले अहिलेसम्म तीन स्थानमा जीत हातपारिसकेको छ भने पाँच स्थानमा अग्रता बनाएको छ । उसले अग्रता बनाएको स्थानमा निकटतम प्रतिद्वन्द्वीहरु निकै पछिरहेकाले ति स्थानमा जित हात पार्ने प्रवल सम्भावना छ ।

समानुपातिकमा पनि घण्टीले ठूला पार्टीको निदहराम गरेको छ । उसले समानुपातिकमा तेस्रो स्थानमा मत हात पारिरहेको छ ।

पहिलो स्थानमा नेकपा एमालेले मत पाउँदा दोस्रोमा नेपाली कांग्रेस रहेको छ भने तेस्रो स्थानमा घण्टी रहेको छ । यसअघि ठूलो दल बन्ने गरेको माओवादी केन्द्र रविको पार्टी भन्दा पछि परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा यतिबेला नेपालमा मात्र होइन भारतीय सञ्चारमाध्यममा पनि रहेको छ । भारतीय टेलिभिजन एवं अनलाइन आजतकले नेपालको चुनाव र लामिछाने नेतृत्वको पार्टीको चर्चा रहेको छ ।

आजतकले ‘नेपाल चुनाव: एक पत्रकारले कसरी बजाए पुराना नेताको घण्टी,६ महिनामा बदलियो खेल‘ शीर्षकमा समाचार बनाएको छ ।

उसले ६ महिना अघि पत्रकारले युवाहरुलाई साथ लिएर बनाएको दलले पुराना दलहरुलाई चुनौती दिएको समाचारमा उल्लेख गरेको छ ।

समाचारमा त्यसअघि स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा बालेन्द्र साहले जित निकालेपछि युवाहरु राजनीतिमा सक्रिय भएको र पुराना राजनीतिक दलको कब्जामा रहेको राजनीतिलाई बाहिर निकाल्न खोजेको उल्लेख गरेको छ ।

नेपालको राजनीतिक चाल, चरित्र र मुहार बदल्नका लागि केही युवा मिलेर चुनाव लड्ने घोषणा गरेको र मतपरिणाम उनीहरुको पक्षमा देखिएको समाचारमा जनाइएको छ ।


क्लिकमान्डु