चुनावी मैदानमा बहालवाला मन्त्रीहरुः कसको कस्तो छ अवस्था ?



काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सत्तामा रहेका १९ जना मन्त्रीहरु पनि मैदानमा देखिएका थिए । हाल देशभर भइरहेको मतगणनामा बहालवाला मन्त्रीहरुको चुनावी मैदानमा भइरहेको अवस्था पनि देखिरहेको छ । जसमध्ये कतिपय मन्त्रीहरु अग्रस्थानमा देखिन्छन् भने कतिपय निकै पछि परेको अवस्था छ ।

सुरुवात प्रधानमन्त्रीबाटै हेरौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा देखिएका थिए । हाल भइरहेको मतगणनामा उनी शिर्ष स्थानमा देखिएका छन् । हालसम्म भएको मतगणनामा देउवाले ६ हजार ८८० मत ल्याएका छन् ।

देउवाका प्रतिस्पर्धी रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले हालसम्म भएको मत गणनामा ३ हजार ६६६ मत ल्याएका छन् ।

त्यस्तै, बहालवाला अर्थमन्त्री तथा माओवादी केन्द्रबाट रुकुम पश्चिमको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका जनार्दन शर्माले पनि हालसम्म भएको मतगणनामा शिर्ष स्थानमा देखिएका छन् । उनले हालसम्मको गणनामा ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले हालसम्मको गढानामा २ सय ४९ मत प्राप्त गरेका छन् । शर्माको जीत सहज रुपमा हुने हालसम्मको मतपरिणामले देखाएको छ ।

त्यस्तै, रुपन्देही–३ बाट निर्वाचनमा उठेका गृहमन्त्री बालकृष्ण खाँडलाई राप्रपाका दीपक बोहराले पछि पारेका छन् । बोहराले ४ हजार ५७० मत ल्याउँदा खाँणले ४ हजार २१९ मत ल्याएका छन् ।

खानेपनीमन्त्री रहेका नेपाली कांग्रेसका उमाकान्त चौधरी यसपटक बारा–१ बाट निर्वाचनमा उठेका थिए । उनलाई नेकपा एमालेका अच्युतप्रसाद मैनालीले पछि पारेका छन् । मैनालीले हालसम्म भएको मतगणनामा ६ हजार ६६१ मत ल्याएका छन् भने चौधरीले हालसम्म ४ हजार ९३९ मत मात्रै पाएका छन् ।

ललिलपुर–३ बाट उम्मेदवार रहेकी उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल भने तेस्रो स्थानमा देखिएकी छिन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की अग्रस्थानमा छिन् । उनले हालसम्म भएको मतगणनामा ५ हजार ८२७ मत प्राप्त गरेकी छिन् । सो क्षेत्रमा दोस्रो स्थानमा नेकपा एमालेका अमृत खड्का ४ हजा ४३३ मतसहित दोस्रो स्थानमा छन् । तेस्रोमा स्थानमा रहेकी उर्जामन्त्री भुसालले हालसम्म २ हजार ५४१ मत प्राप्त गरेकी छिन् ।

उद्योगमन्त्री दिलेन्द्र बडु दार्चुलाबाट चुनावी मैदानमा देखिएका थिए । उनीसँग नेकपा एमालेका गणेशसिंह ठगुन्नाको प्रतिस्पर्धा भइरहेको छ । हालसम्मको गणनामा बडुले २ हजार ६८४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका ठगुन्नाले भने २ हजार ३३८ मत प्राप्त गरेका छन् ।

उदयपुर–१ बाट निर्वाचनमा उम्मेदवारी दिएका परराष्ट्रमन्त्री नारायण खड्का निकै कम मतान्तरले अघि देखिएका छन् । उनको निकटतम प्रतिस्पर्धिका रुपमा नेकपा एमालेकी मञ्जुकुमारी चौधरी देखिएकी छिन् । खड्काले हालसम्मको गणनामा २ हजार ५३४ मत ल्याउँदा चौधरीलाई २ हजार २ ९० मत प्राप्त भएको छ ।

सहरी विकासमन्त्रीको पदमा रहेका तथा एकीकृत समाजवादीका मेटमणि चौधरीले हालसम्मको मतगणनामा अग्रता लिइरहेका छन् । दाङ–१बाट निर्वाचनमा होमिएका उनले नेकपा एमालेका शान्ता चौधरीलाई पछि पारिरहेका छन् । हालसम्म मेटमणी चौधरीले २ हजार ३६ मत पाएका छन् भने शान्ता चौधरीले १ हजार ३०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राज्यमन्त्री रहेका उमेश श्रेष्ठ यसपटक प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट उठेका थिए । उनी सो क्षेत्रमा तेस्रो स्थानमा देखिएका छन् । चितवन–२ मा पहिलो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र दोस्रो स्थानमा नेकपा एमालेका कृष्णभक्त पोख्रेल रहेका छन् । लामिछानले हालसम्मको गणनामा ४ हजार ७ मत प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका पोख्रेलले ३ हजार ८७९ मत ल्याएका छन् भने राज्यमन्त्री श्रेष्ठले हालसम्म ३ हजार ४१० मत प्राप्त गरेका छन् ।

त्यस्तै, शिक्षा मन्त्री देवेन्द्र पौडेल बागलुङ–२ बाट निर्वाचनमा उठेका थिए । हालसम्म उक्त क्षेत्रमा भएको मतगणनामा पौडेलले एमालेकी मञ्जु शर्मालाई पछि पारिरहेका छन् । पौडेलले हालसम्म ४ हजार ८३९ मत प्राप्त गरेका छन् । यता एमालेकी शर्माले ३ हजार ९१८ मत प्राप्त गरेकी छिन् ।

बाँके–१बाट गठबन्धनकातर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई हालसम्मको मतगणनामा एमालेका सूर्यप्रसाद ढकालले पछि पारिरहेका छन् । एमालेका उम्मेदवार ढकालले हालसम्मको गणनामा ४ हजार ११६ मत प्राप्त गरेका छन् । यता युवा तथा खेलकुद मन्त्री गहतराजको मत संख्या ३ हजार १५४ देखिएको छ ।

काठमाडौं । पश्चिम नवलपरासीको १ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का महेन्द्र सेन ठकुरीको जित सुनिश्चित भएको छ । ठकुरीले कांग्रेसका उम्मेद्वार बिनोद चौधरीलाई झिनो मतान्तरले जित्ने निश्चित भएको हो ।

निर्वाचन आयोगको पछिल्लो परिणाम अनुसार मतगणनाको पछिल्लो परिणाम अनुसार घण्टीका ठकुरीले ३९५९ मत ल्याएका छन् भने रुखका चौधरीले ३८७० मत ल्याएका छन् । अहिलेसम्म चौधरीभन्दा ठकुरी ८९ मतले अघि देखिएका छन् । अब गणना हुन बाँकी सबै मत चौधरीलाई जाने हो भने पनि ठकुरीले नै चुनाव जित्छन् ।

यो निर्वाचन क्षेत्रमा १३ हजार १ सय ४० मत खसेको थियो । जसमध्ये ६८७ मत बदर भएको थियो । कुल सदर मत १२४५३ मत छ । हालसम्म १२४२७ मतको नतिजा आइसकेको छ । जम्मा गणना हुन बाँकी मत २६ मात्रै रहेको छ । गन्नबाँकी मत भन्दा बढीको मतान्तरले ठकुरी अगाडि छन् ।


क्लिकमान्डु