समानुपातिकमा पहिलो या दोस्रो हुन्छौं: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले अहिलेसम्म प्राप्त मत अपेक्षा गरेको भन्दा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
लामिछानेले अहिलेसम्म गणना गरिएको क्षेत्र दुर्गम र विकट क्षेत्र रहेको र आफू उक्त क्षेत्रमा मतदातालाई भेट्नसमेत जान नभ्याएका कारण यो मतपरिणाम स्वभाविक भएको बताए । अब आफूले अग्रता लिने उनको भनाइ छ ।
प्रतिद्वन्द्वी समूहकाले समेत अपेक्षा गरेभन्दा आफूहरुको मत धेरै आएको भनिरहेका भन्दै उनले अहिले प्राप्त मत अपेक्षा गरेभन्दा धेरै रहेको बताए ।
समानुपातिकमा आफूहरु पहिलो हुनसक्ने सम्भावना रहेको दाबी गरे ।
अहिले समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको र त्यसबाट माथि उक्लिएर दोस्रो या पहिलो हुने सम्भावना रहेको दाबी गरे ।
‘समानुपातिकमा अहिले हामी तेस्रो स्थानमा छौं त्यसबाट अझै माथि उक्लिन्छौं जस्तो लाग्छ मलाई दोस्रो या समानुपातिका पोसिबल्लि फर्स्ट हुन सक्छौं कि’ उनले भने ।
अहिलेसम्मको गणनामा समानुपातिकमा नेकपा एमालेले ८६ हजार ६०२ मत पाएको पहिलो दल बनेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ७२ हजार ९२६ मत पाएको छ । तेस्रो स्थानमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । उसले ३७ हजार ६६० मत पाएको छ । त्यसपछि नेकपा माओवादी केन्द्रले मत पाएको छ ।