कञ्चनपुरमा तीन पूर्वमन्त्रीको अग्रता, कसले मार्ला बाली ?



महेन्द्रनगर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् ।

निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक तीन हजार छ सय ८७ मतसहित अग्रस्थानमा छन् ।

सत्ता गठबन्धनका उम्मेदवार उनले गणना सुरु भएयता आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । यहाँ १६ हजार एक सय ८७ मत गणना हुँदा लेखकले आठ हजार तीन सय ७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की निरुदेवी पालले चार हजार छ सय ८८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले सात सय ९० मत पाएका छ भने दुई वटा प्रदेशसभा रहेको निर्वाचन क्षेत्र नं ३ मा प्रदेशसभा सदस्यको गणना समेत जारी छ ।

९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश साउदको अग्रता कायम छ । यहाँ आठ हजार छ सय ९८ मत गणना हुँदा उनले तीन हजार चार सय ४८ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर धामीले तीन हजार दुई सय ८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यहाँ पनि दुवै प्रदेशसभासदस्यको गणना भइरहेको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेका धामीसित कांग्रेस नेता साउद पराजित भएका थिए । एक लाख पाँच हजार पाँच सय ७७ मतदाता रहेकोको निर्वाचन क्षेत्र नं २ मा ६५ हजार एक सय ४६ मत खसेको थियो । त्यसैगरी निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तारा लामा तामाङ गणनाको सुरुवातदेखि अग्रस्थामा छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनले दुई हजार दुई सय १७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्प्रर्धी सत्ता गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री बिना मगरले एक हजार पाँच सय ७५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ को दुई वटै प्रदेशसभाको पनि मत गणना जारी छ । ९९ हजार एक सय १० मतदाता रहेको निर्वाचन क्षेत्र नं। १ मा ६४ हजार दुई सय ३९ खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।


क्लिकमान्डु