चुनावी मैदानमा ४ पूर्वअर्थमन्त्रीः पुनलाई सहज, एमालेलाई पछ्याउँदै कार्की, पाण्डे र पौडेललाई ‘घण्टी’को बज्र



काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वर्थमन्त्रीहरु चुनावी मैदानमा देखिएका थिए । हाल देशैभर भइरहेको मतगणनाहरुमा चारै जना पूर्वअर्थमन्त्रीहरुहरु मध्ये वर्षमान पुनबाहेक अन्यको अवस्था नाजुक देखिएको छ ।

यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा बहालवाला अर्थमन्त्री जनार्दन शर्मासहित पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन, ज्ञानेन्द्र बहादुर कार्की र विष्णु पौडेल चुनावी मैदानमा देखिएका थिए । चार पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुनलाई हालसम्म भइरहेको मतगणनामा सहज अवस्था देखिएको छ । बाँकी तीनमध्ये पाण्डे र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले लगातार उछिनिरहेको छ ।

त्यस्तै, पूर्वअर्थमन्त्री कार्कीलाई नेकपा एमालेका उम्मेदवारले झिनो मतान्तरले पछि पारिरहेका छन् ।

सबैभन्दा सहजरुपमा जीत पूर्वअर्थमन्त्री पुनले पाउने देखिएको छ । हालसम्म भएको मतगणनामा पुनले ५ हजार ७३२ मत प्राप्त गरेका छन् । उनी रोप्लाको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका छन् । सो क्षेत्रमा उनका निकट प्रस्पिर्धिका रुपमा देखिएका पूर्ण बुढा मगरसँगको मतान्तर ३ हजारभन्दा धेरै छ । हालसम्म मगरले २ हजार २७४ मत प्राप्त गरेका छन् ।

चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सुरेन्द्र पाण्डे हाल भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबाट हजारभन्दा धेररै मतान्तरले पछि परेका छन् । हालसम्म भएको मतगणनामा पाण्डेले २ हजार ७०८ मत प्राप्त गरेका छन् । उनलाई पछि पारेका राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले हालसम् ३ हजार ९४९ मत प्राप्त गरेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रभाव जमाएको र प्रारम्भिक मतगणनामा पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई पछि पारेको देखिएको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पूर्व अर्थमन्त्री पौडेललाई पछि पारेका छन् । उनले हालसम्म ३ हजार ३१९ मत प्राप्त गरेका छन् । यता दोस्रो नम्बरमा देखिएका पौडेलले हालसम्मको मतगणनामा २ हजार ८९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसबाट सुनसरी-४ मा उम्मेदवार रहेका ज्ञानेन्द्र बहादुर कार्की पनि एमालेका उम्मेदवारसँग झिनो मतान्तरले पछि परेका छन् । सो क्षेत्रमा उम्मेदवार र रहेका नेकपा एमाले जगदिशप्रसाद कुसियैतले हालसम्म २ हजार २०५ मत प्राप्त गरेका छन् । यता पूर्वअर्थमन्त्री कार्कीले भने हालसम्म २ हजार ९६ मत प्राप्त गरेका छन् ।

बहालवाला अर्थमन्त्री शर्माको अवस्था के छ ?

त्यस्तै, बहालवाला अर्थमन्त्री तथा माओवादी केन्द्रबाट रुकुम पश्चिमको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका जनार्दन शर्माले पनि हालसम्म भएको मतगणनामा शिर्ष स्थानमा देखिएका छन् ।

उनले हालसम्मको गणनामा ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले हालसम्मको गढानामा २ सय ४९ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु