काठमाडौंमा मतगणनाको प्रारम्भिक रुझान: घण्टी अघिअघि, कांग्रेस र एमाले पछिपछि



काठमाडौं । हिजो भएको प्रतिनिधि सभा निर्वाचनको काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ । सोमबार दिउँसोबाट शुरु भएको अधिकांश (१०) निर्वाचन क्षेत्रको मतगणनाको प्रारम्भिक रुझानमा पहिलो पटक निर्वाचनमा खडा भएको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ ।

हाल मत गणना भइरहेका काठमाडौंका निर्वाचन क्षेत्रहरुमध्ये चारवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

हाल काठमाडौंका निर्वाचन क्षेत्र १,२, ४, ६, ७, ८ र ९ मा मत गणना भइरहेको छ । यसमध्ये १ र ४ मा नेपाली कांग्रेसका उम्मेद्वारहरुको अग्रता देखिएको छ ।

त्यसबाहेक ६, ७ र ८ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रसता देखिएको छ । काठमाडौं ९ मा एमालेले झिनो अग्रता बनाएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अघि देखिएका छन् । कुल ३८ हजार ३८० मत खसेको यो क्षेत्रमा हालसम्म ५ सय मत गणना हुँदा खनालले १७२ मतसहित अग्रता लिएका छन् ।

उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले १४२ मतसहित पछ्याउँदै छन् भने तेस्रो स्थानमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका भीमसेनदास प्रधान १०८ मतसहित रहेका छन् ।

क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली अघि देखिएका छन् । हालसम्म भएको मतगणनामा उनी ६१४ मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका श्याम कुमार घिमिरेले ५०९ मतसहित पछ्याउँदै छन् भने तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई रहेकी छिन् । भट्टराईले हालसम्म ४५५ मत प्राप्त गरेकी छिन् ।

काठमाडौं–८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त दलका विराज भक्त श्रेष्ठले ६२१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

दोस्रो स्थानमा हाम्रो नेपाली पार्टी (लौरो अभियान)का सुमन सायमी छन् । सायमीले हालसम्म ६०३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमालेका शिव सुन्दर राजवैद्य ३०८ मत सहित रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता नरहेको दुई क्षेत्र काठमाडौं–१ र काठमाडौं–४ मा क्रमशः नेपाली कांग्रेसका प्रकाशमान सिंह र गगनकुमार थापा अग्रस्थानमा रहेका छन् भने काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठले अग्रता बनाइरहेका छन् ।


क्लिकमान्डु