ब्रोकरको आफ्नै टीएमएस राख्ने योजना पूरा हुँदै, ३४ वटाले पाए अनुमति



काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरुले करिब साढे २ वर्षपछि आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् ।

२०७८ साउनदेखि आफ्नै टीएमएस चलाउने भनेर २०७७ चैतमा नै ब्रोकरले विज्ञप्ति जारी गरेका थिए । उक्त समयमा आफ्नै टीएमएस सञ्चालन गर्न नसकेका ब्रोकरले पुनः गत साउन १ गतेदेखि आफ्नै टीएमएस चलाउने भन्दै अर्को विज्ञप्ति जारी गरेका थिए । तर पनि सकेका थिएनन् । हाल ३४ ब्रोकर कम्पनीलाई आफै टीएमएस सञ्चालन गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनुमति दिएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीकाअनुसार ब्रोकरहरुले आफ्नै टिएमएस सञ्चालनका लागि आवश्यक कागजात पेस गरिसकेको र कागजात हेरेर ३४ वटालाई पूर्व अनुमति दिइएको छ ।

३३ वटाले डीजी हब, १ वटा (५८ नम्बर ब्रोकर)ले आफ्नो छुट्टै सिस्टम राख्ने र बाँकी १६ वटा कम्पनीले अहिलेको सिस्टम चलाउने भएका छन् ।

नेप्सेले सबैलाई भौतिक पूर्वाधार तयार गर्न निर्देशन पनि दिइसकेको छ । त्यसमध्ये केही कम्पनीको नेप्सेले भौतिक पूर्वाधारको निरीक्षण गरिसकेको छ । निरीक्षणपछि के देखियो, के थपघट गर्नुपर्ने भन्ने विषयमा नेप्सेले केही जानकारी नगराएको स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए ।

ब्रोकरले तयार पारेको भौतिक पूर्वाधार र नेप्सेको सिस्टम कनेक्ट भएपछि एक महिना परीक्षण हुने र एक महिनापछि पूर्ण रुपमा कार्यान्वयनमा जाने मैनालीले बताए ।

३३ वटा ब्रोकरले प्रयोग गर्न लागेको डिजी हबको सफ्टवेयर हाल श्रीलंकामा प्रयोग भइरहेको छ । उक्त सिस्टमलाई प्रयोग गर्ने अन्तिम तयारी भइरहेको मैनालीको भनाइ छ ।

ब्रोकर कम्पनीले आफ्नै टिएमएस लिएपछि सेयर लगानीकर्ताले पनि नयाँ युजर नेम, पासवर्ड लिनुपर्ने छ । ब्रोकरले ल्याउने टीएमएसमा मोबाइल एप्लिकेसन हुने छ ।

ब्रोकरले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली, २०७९’ मा तोकिएको मापदण्ड पालना गर्नुपर्ने छ ।

ब्रोकरले चलाउने टीएमएसको सुनिश्चितताका लागि चाहिने आवश्यक हार्डवयर तथा सफ्टवेयरको फेल ओभर सम्बन्धी व्यवस्था र सोको समय समयमा परीक्षणको लागि मापदण्ड पूरा गरेको हुनुपर्ने छ ।

उक्त मापदण्डमा नेटवर्क सम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानको लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गरिएको हुनुपर्ने, साइबार आक्रमण सम्बन्धी घटना र समस्याहरुको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाको लागि अनुगमन र सम्बोधन गर्ने प्रणाली स्थापना गरेको हुनुपर्ने छ ।

विजनेश रिकभरी म्यानेजमेन्ट र रेस्पोन्स सिस्टम स्थापना भएको, डिजास्टर रिकभरी साइट स्थापना गरिएको, टीएमएसका लागि आवश्यक पर्ने सर्भर, भण्डारण क्षमता, सुरक्षा व्यवस्था, नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार नेप्सेले तोके बमोजिम हुनुपर्ने छ।

यस्तै सुरक्षा तथा अनुपालनाका लागि पासवर्डको सुरक्षा, निष्कृय ग्राहकको खाताको पहुँचमा रोक, कारोबार व्यवस्थापन प्रणाली चालू रहेको अवधिको सुरक्षा, कारोबार सदस्यको कोड र परिचय, अनिवार्य अग्रिम रकम वा मार्जिन संकलन, सम्परीक्षणको अभिलेख र लगइन ट्रयाक हुनुपर्ने छ ।

टीएमएस चलाउने भएपछि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने छ । यसले गर्दा ब्रोकरको लागत बढ्ने भएको छ । सिस्टम एन्ड नेटवर्क एडमिनिस्ट्रेटर–डाटाबेस एडमिनिस्ट्रेटर एक जना र सहायक कर्मचारी एक जना राख्नुपर्ने छ ।

सूचना प्रविधि जनशक्तिको शैक्षिक योग्यता तथा अनुभवमा सिस्टम एन्ड नेटवर्क एडमिनिस्ट्रेटर–डाटाबेस एडमिनिष्ट्रेटर जिम्मेवारी लिने कर्मचारीले मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित (कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर विज्ञान, सूचना प्रविधि व्यवस्थापन वा सो सरहको) विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा तीन वर्षको कार्यानुभव प्राप्त गरेको हुनुपर्दछ ।

सहायक कर्मचारीको हकमा सहायक कर्मचारीले मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण (कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर विज्ञान, सूचना प्रविधि व्यवस्थापन वा सो सरहको) गरेको हुनुपर्नेछ ।

ब्रोकरले आफ्नै टीएमएस सञ्चालन गर्दा लागत बढ्ने र लागत बढेपनि त्यही अनुसार नै व्यवसाय विस्तार गर्ने अध्यक्ष मैनालीको भनाइ छ ।

ब्रोकरले डाटा रिकभरी साइटको व्यवस्था गर्नुपर्ने छ । कारोबार सदस्यहरुले कारोबार व्यवस्थापन प्रणाली सञ्चालन गर्न डाटा सेन्टर तथा डाटा रिकभरी साइटको व्यवस्था गर्नुपर्नेछ । सोको प्राविधिक स्पेसिफिकेसन नेप्सेले तोके बमोजिम हुनेछ ।


क्लिकमान्डु