कतार विश्वकप हालसम्मकै महँगो, कति होला खर्च ?



एजेन्सी । २०२२ को विश्वकप सुरु हुन दुई दिनमात्रै बाँकी छ । २० नोभेम्बर अर्थात् आइतबारबाट कतारमा विश्वकप फुटबलको महाकुम्भ सुरु हुँदै छ । र यो विश्वकप हालसम्मकै सबैभन्दा महंगो विश्वकप हुने देखिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा स्रोतमा उल्लेख भएअनुसार कतारमा हुने विश्वकपको कूल लागत २२० बिलियन अमेरिकी डलर (करिब २८६ खर्ब ५ ७ अर्ब नेपाली रुपैयाँ) लाग्ने छ ।

जसमा खेलका लागि आवश्यक पूर्वाधार निर्माणदेखि विश्वकप खेल हुँदाका खर्चहरु समेटिएका छन् ।

हरेक चार/चार वर्षमा हुने विश्वकप फुटबल खेल विश्वभरकै खेलप्रतिका लागि आकर्षणको विषय हो । लाखौंको संख्यामा दर्शकले यसलाई प्रत्यक्ष वा परोक्ष रुपमा (टेलिभिजन, इन्टरनेटमार्फत) हेर्ने गर्छन् ।

खेलमा खेलाडी र देशहरुमाथि दर्शकको ध्यान रहने भएता पनि कतिपयलाई खेलाडी तथा भाग लिने देशहरुले विश्वकपमा भाग लिए वापत कति पैसा पाउँछन् भन्ने पनि चासो देखिएको छ ।

विश्वकप फुटबल आयोजक फिफाले यसपटक २०० मिलियन अमेरिकी डलर विभिन्न क्लबहरुलाई हाल त्यहाँ आवद्ध रहेका खेलाडीहरुलाई विश्वकपमा भाग लिने अनुमति दिनका लागि तिर्ने गर्छ । सँगै हाल विश्वकपमा भाग लिने खेलाडीहरु विगत दुई वर्षभित्रमा रहेका फरक फरक क्लब भएमा तीनिहरुलाई पनि फिफाले पैसा दिने गर्छ ।

फिफाले जनाएअनुसार अघिल्लो विश्वकपमा ६३ देशका कुल ४१६ क्लबहरु यसभित्र थिए ।

यसपटक क्लबहरुलाई दिइने पैसामा समग्रमा फिफाले ४४० मिलियन डलर खर्च गर्छ, जसमा प्रतिखेलाडी ३७ हजार अमेरिकी डलर पर्न जान्छ ।

यो त विश्वकपमा भाग लिन आउने खेलाडीहरुले पाउने रकमको पाटो भयो ।

विश्वकप जित्ने टोलीले यसपटक ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४७ करोड नेपाली रुपैयाँ) बराबरको पुरस्कार पाउनेछन् । अघिल्लो पटक २०१८ को विश्वकपमा फ्रान्सले जितेपछि ३८ मिलियन अमेरिकी डलर पाएको थियो । यसपटक उक्त राशिमा पनि वृद्धि भएको छ ।

विगत फर्किएर हेर्ने हो भने सन् १९८२ मा विश्वकप फुटबलमा बिजेता हुने टिमले २.२ मिलियन अमेरिकी डलर पाएको थियो । १९९८ मा त्यो रकम ६ मिलियन अमेरिकी डलर पुगेको थियो ।

त्यस्तै, २०१० मा विजेता हुने टोलीलाई ३० मिलियन अमेरिकी डलर दिइएको थियो । २०१४ को विश्वकपमा प्रथम हुनेको पुरस्कार राशी ३५ मिलियन अमेरिकी डलर थियो ।

त्यस्तै, यसपटक दोस्रो हुने टिमले ३० मिलियन अमेरिकी डलर पाउनेछ । त्यस्तै, तेस्रोले २७ र चौथोले २५ मिलियन अमेरिकी डलर पाउनेछ । आठौंदेखि पाँचौंसम्म हुने टिमले प्रति टिम १७ मिलियन अमेरिकी डलर पाउछन् ।

नौंदेखि १६ औं सम्म पर्ने टिमहरुले १३ मिलियन अमेरिकी डलर पाउनेछन् । १७ देखि ३२ औं स्थानसम्म पर्ने टिमहरुले भने प्रतिटिम ९ मिलियन अमेरिकी डलर पाउनेछन् । विश्वकपमा ३२ देशले प्रतिस्पर्धा गर्छन् ।

विश्वकप खेल खेल्न कतार जाने खेलाडीहरुले पनि दैनिक रुपमा पारिश्रमिक पाउँछन् । फिफाका अनुसार खेलाडीले खेल सुरु हुनुभन्दा दुई साताअघि र आफ्नो देशको खेल सकिएको भोलिपल्टसम्म जति दिन खेल हुने ठाउँमा बस्छ, त्यति नै दिनको परिश्रमिक पाउनेछ । यसमा खेलाडीले प्रतिदिन १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यसपटक कतारमा हुन लागेको विश्वकपको कुल बजेट २२० बिलियन छ । जबकी अघिल्लो पटक रसियामा भएको विश्वकपको कुल बजेट १६ बिलियन मात्रै थियो । तुलनाका लागि १९९४ मा अमेरिकामा भएको विश्वकप ०.५ बिलियन अमेरिकी डलरमा सकिएको थियो । कतारमा हुन लागेको यो विश्वकप हालसम्मकै सबैभन्दा महंगो विश्वकप हो ।

तर, कतारमा हुने विश्वकपमा यति धेरै खर्च आउनुमा त्यहाँ बनाइएका नयाँ स्टेडियम, पुराना स्टेडियमको मर्मतजस्ता कुराहरु पनि सामेल रहेका छन् ।

झन् कतारमा त विश्वकपको फाइनलका लागि नयाँ शहर नै निर्माण गरिएको छ, जसको नाम लुसैल रहेको छ । स्पोट्सगंगाले जनाएअनुसार कतारमा हरेक साता नयाँ स्टेडियम, अस्पताल, होटल, पूर्वाधारलगायतको निर्माणका लागि हरेक हप्ता ५ सय मिलियन अमेरिकी डलर खर्च गरिएको छ ।

विभिन्न आर्थिक विश्लेषकहरुले अनुमान गरेअनुसार विश्वकपकै समयमा २०२२ को अन्त्यसम्ममा कतारको जीडीपी ४.१ प्रतिशतले बढ्नेछ । विश्वकपले उक्त देशको अर्थतन्त्रमा २० बिलियन अमेकिरी डलरको योगदान गर्ने उनीहरुको भनाइ छ ।


क्लिकमान्डु