पर्यटन क्षेत्रको आम्दानी ११० प्रतिशतले बढ्यो, तीन वर्ष यताकै धेरै



काठमाडौं । नेपाल आउने पर्यटकको संख्या बढेसँगै पर्यटन क्षेत्रबाट हुने आम्दानी बढेको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा पर्यटन क्षेत्रबाट पछिल्लो ३ वर्ष यताकै धेरै कमाइ भएको छ । यो वर्षको ३ महिनामा पर्यटन क्षेत्रबाट ११ अर्ब ४० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा कमाइ भएको हो ।

जबकी गत वर्षको ३ महिनामा नेपाल घुम्ने पर्यटकबाट ५ अर्ब ४२ करोड रुपैयाँ कमाइ भएको थियो । पर्यटकीय गतिविधि बढेपछि यो वर्षको तीन महिनामा गत वर्षभन्दा ११०.४ प्रतिशत बढी कमाइ भएको हो ।

कोरोना महामारीले पर्यटकीय गतिविधि सुस्त भएको आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा पर्यटन क्षेत्रबाट १ अर्ब ४८ करोड रुपैयाँ मात्रै आर्जन भएको थियो ।

कोरोना महामारी सुरु हुनुभन्दा अगाडि आर्थिक वर्ष २०७६/७७ को तीन महिनामा पर्यटन क्षेत्रबाट १७ अर्ब ३२ करोड रुपैयाँ आम्दानी भएको थियो । जनु नेपालले पर्यटन क्षेत्रबाट अहिलेसम्म कमाएको धेरै रकम हो ।

आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा नेपालले पर्यटन क्षेत्रमा १५ अर्ब ५१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा कमाएको थियो ।

सन् २०२२ को दश महिनामा ७ लाख ७० हजार ३ सय २२ विदेशी पर्यटक नेपाल आएका छन् । गत वर्षभर १ लाख ४९ हजार ८३३ पर्यटक नेपाल घुम्न आएका थिए ।

सन् २०२० मा भने २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

कोरोना महामारी पूर्व सन् २०१९ मा अहिलेसम्मकै धेरै ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए ।

नेपालको आम्दानीभन्दा खर्च दोब्बर बढी
चालु आर्थिक वर्षको तीन महिनामा पर्यटन क्षेत्रको आम्दानी ११० प्रतिशतले वृद्धि हुँदा नेपालीले विदेश घुम्दा गर्ने खर्चसमेत ६२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा नेपालीले विदेश घुम्दा २६ अर्ब ३ करोड रुपैयाँ खर्च गरेका छन् । जबकी गत वर्षको तीन महिनामा १६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको थियो ।

कोरोना महामारीले अन्तर्राष्ट्रिय उडान समेत ठप्प भएकाले आर्थिक वर्ष २०७७/७८ नेपालीले विदेश घुम्दा ५ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेका थिए ।


क्लिकमान्डु