आईसीपी जोड्ने पुल सञ्चालनमा ल्याउन भारतीय दूतावासलाई विराटनगरका व्यवसायीको आग्रह



विराटनगर । नेपाल-भारत जोड्ने मीरगञ्ज पुल भत्किएपछि त्यसको नजिक बनेको नयाँ पुल तत्काल सञ्चालमा ल्याउन मोरङ व्यापार संघले पहल गरिरहेको छ ।

एकीकृत जाँच चौकी (आइसीपी)विराटनगर जोड्न भारतको बथनाहामा बनाइएको नयाँ पुल सञ्चालनका लागि संघले बिहीबार भारतीय राजदूतावासका अधिकारीहरुसँग भेट गरेको छ ।

संघले दूतावासका डिपुटी चिफ अफ मिशन प्रशन्न श्रीवास्तव र वाणिज्य प्रमुख सुमन शेखरलाई भेटेर पुलको समस्या चाडो समाधान गर्न अनुरोध गरेको हो । संघका कार्यकारी सदस्य गोपाल अग्रवाले भारतीय अधिकारीलाई भेटेर पुल सञ्चालनका लागि अनुरोध गरेको जानकारी दिए ।

संघका अध्यक्ष नवीन रिजालद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवका लागि प्रेषित संघको पत्र लिइ काठमाडौँस्थित भारतीय दूतावास पुगेका संघका सदस्य अग्रवालले त्यहाँका अधिकारीहरुसँग भेटघाट गरेका थिए ।

भारतीय अधिकारीहरुसँगको भेटघाटका क्रममा आगामी १५ दिनभित्र उक्त पुल सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको जानकारी प्राप्त भएको अग्रवालले बताए ।

नवनिर्मित सो पुलको यथाशीघ्र संचालनका लागि संघका अध्यक्ष रिजालले गत साता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गड्करी र दिल्लीस्थित नेपाली राजदूतावासलाई पत्राचार गरेका थिए ।

विराटनगर आईसीपी जोड्ने भारतको बथनाहा–जोगबनी सडक खण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी/व्यवसायीहरुले विगत ११ महिनादेखि भन्टावारी नाका प्रयोग गर्दै दैनिक करिब एक करोड रूपैयाँ अनावश्यक व्ययभार व्यहोर्दै आएका छन् ।

उद्योगी व्यवसायीहरूको यो समस्याका बारेमा प्रदेश १ को सरकार र प्रदेशको राजधानी विराटनगरका कुनै पनि राजनीतिक दलका नेताहरूले चासो र चिन्ता व्यक्त नगरेको मोरङ–सुनसरी करिडोरका उद्योगी व्यवसायीहरूको आरोप छ ।

यस विषयमा संघीय सरकारले पनि कुनै पहलकदमी नलिएको उद्योगी व्यवसायीहरूको गुनासो छ । बथनाहामा रहेको मीरगञ्ज पुल गत वर्षको पुसदेखि भत्किएर त्यहाँबाट मालवाहक सवारी साधनहरूको आवागमन बन्द हुन पुगेको थियो ।

त्यसपछि मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरूले मालवस्तु ढुवानीमा सास्ती भोग्दै आएका छन् । जसले गर्दा विराटनगर भन्सारको राजश्व लक्ष्यभन्दा झण्डै ३० प्रतिशत कम उठेको भन्सार कार्यालयका अधिकारीहरूको दाबी छ ।

यसले गर्दा नै गैरभन्सार क्षेत्रबाट चोरी तस्करी भएर मालवस्तु स्वदेश भित्रिने गरेको सो भन्सार (आईसीपी) का प्रशासकीय अधिकृत एवं प्रवक्ता रामचन्द्रप्रसाद ढुंगाना बताउँछन् ।


क्लिकमान्डु