निर्वाचन सुरक्षाका लागि हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।

निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो ।

निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरिएको बताए ।

त्यस्तै निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको उनले उल्लेख गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने उनले जानकारी दिए ।

उनले भने ,‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरु गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधिहरु रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ’ उनले भने ।

उनले मतदान केन्द्रमा असर पुर्‍याउने खालका कुनै पनि प्रकारका गतिविधि भएमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक लगायत जसले पनि सूचना दिन र अनुचित क्रियाकलाप गरोकी कानूनी कारबाही गर्न निर्देशन दिएको बताए ।

आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको जनाएको छ । १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

यस्तै १४१ अस्थायी मतदान केन्द्र रहेको र ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने उनले बताए ।

थपलियाकाअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् भने प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचिमा कायम गरिएको छ ।

थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको बताए ।

त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिएको उल्लेख गरे । उनले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएको र पर्यवेक्षकले प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्ने बताए ।

आयोगले करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिव २ लाख ४६ हजार ९६० कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थल पुगिसकेका बताए । मतदान शुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहीता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको उनको भनाइ छ ।


क्लिकमान्डु