एमालेका बागी उम्मेदवार रामवीरले भने- अत्याधिक मतले जित्छु, आगामी दिनमा कुनै चुनाव लड्दिन



काठमाडौं । काठमाडौं-७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरि मानन्धरले बाँकी काम पूरा गर्नका लागि यो पटक आफू घण्टाघर चुनाव चिह्न लिएर उम्मेदबार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यस पटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छटपटी बढेको दाबी गर्दै आफू नै जनताको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन् ।

स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले कांग्रेससँग जोडेर आरोप लगाएकाले आफूलाई न्याय दिनका लागि कांग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ ।

एमालेका इमान्दार कार्यकर्ता आफूसँगै रहेको दाबी गर्दै मानन्धरले बाध्यतामा परेर एमालेका उम्मेदवार सङ भएको जस्तो गरे पनि आफूसँग निरन्तर छलफल भइरहेको बताए ।

कांग्रेसले स्थानीय चुनावमा आफ्नो संगठनको बलमा जित्दा पनि रामवीरमाथी एमाले नेतृत्वले आरोप लगाएर अन्याय गरेकाले न्यायका लागि साथ दिने बचन दिएको उनको दाबी छ ।

माओवादीका स्थानीय नेताहरु पनि आफूहरुलाइ गुमराहमा राखेर नेताको सन्तान लादिएको भन्दै आफूसँग निरन्तर सल्लाहमा रहेको मानन्धरको दाबी छ।

काठमाडौंलाई सभ्यता र संस्कृतिको सहर बनाउनका लागि महानगर प्रमुख बालेन् साहलाई सहयोग गर्नका लागि संसदमा आफू भएमात्रै सहज हुने मानन्धरको दाबी छ ।

गुठी विधेयकको बिरोध गरेका कारण नै आफूमाथि पार्टीले अन्याय गरेको मानन्धरको तर्क छ ।

दुई पटक वडाध्यक्ष र दुई पटक सांसद जितेका रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री हुँदा गरेका कामका कारण चर्चामा छन् ।

बाइपास र दगुर्नेपानीमा वर्षौंदेखि रोकिएको सडक विस्तार गरेर उत्तरी क्षेत्रको आवागमन सहज बनाउनु भूमिका खेलेका मानन्धर यो क्षेत्रको सडक र पूर्वाधार निर्माणमा बाँकी रहेका काम पुरा गर्न जनताको बलमा उम्मेदवार भएकाले आफू जित्ने निश्चित भएको दाबी गर्छन् ।


क्लिकमान्डु