भन्सार विभागले उठायो गत वर्षभन्दा २५% कम राजस्व, यो वर्ष लक्ष्यअनुसार राजस्व उठ्न कठिन



काठमाडौं । भन्सार विभाग लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । विभागले चालु आर्थिक वर्षको चार महिनामा लक्ष्यभन्दा ३६ प्रतिशत कम राजस्व संकलन गरेको हो ।

कात्तिकसम्म २ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले १ खर्ब २९ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको छ।

लक्ष्यभन्दा ७३ अर्ब रुपैयाँ कम राजस्व संकलन भएपछि सरकारलाई खर्च व्यवस्थापन गर्न कठिन हुँदै गएको हो ।

विभागले गत वर्ष कात्तिक मसान्तसम्म १ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको ४ महिनामा गत वर्षभन्दा २५ प्रतिशत कम राजस्व संकलन गएको हो ।

भन्सार विभागले साउन देखिनै लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

विभागले कात्तिकमा ५५ अर्ब ३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ३१ अर्ब २४ करोड रुपैयाँमात्रै संकलन गर्न सकेको हो । गत वर्ष कात्तिकमा विभागले ४३ अर्ब रुपैयाँ राजस्व संकलन गरको थियो ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का भारतसँगको व्यापार गर्दा प्रतितपत्र (एलसी) अनिवार्य भएपछि अवैध व्यापार बढेको आशंका गर्छन् ।

‘बैंकिङ प्रणालीबाट कारोबार गर्न अनिवार्य गरिएपछि साना व्यवसायीले एलसी खोल्न झण्झट मानेका छन्,’ सूचना अधिकारी खड्काले भने, ‘एलसी अनिवार्य गरिएपछि छोटी भन्सारबाट सानो परिणामको सामान भित्रिएको छैन । तर, बजारमा सामानको अभाव पनि छैन । त्यसैले अवैध व्यापार बढ्यो कि भन्ने आशंका छ ।’

गत वर्ष आयात भएको १९ खर्ब २० अर्ब रुपैयाँको सामान खपत हुँदा आयातसमेत नबढेकाले गत वर्षभन्दा कम राजस्व संकलन भएको सूचना अधिकारी खड्काको भनाइ छ ।

यो वर्ष १५ खर्बभन्दा बढीको आयात गर्ने सम्भावना नरहेकाले सरकारले ८ खर्ब पनि राजस्व संकलन गर्ने सम्भावना नहरको अर्थ मन्त्रालयका अधिकारहरु बताउँछन् ।

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ, आयात प्रतिबन्ध लगाइएको छ, भन्ने तथ्यलाई बेवास्ता गर्दा भन्सार विभागको लक्ष्य बढाएको थियो ।

गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । विभागलाई गत वर्षभन्दा ३२ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

चार महिनाको आर्थिक गतिविधिको आधारमा यो वर्ष लक्ष्य अनुसार राजस्व संकलन हुने सम्भावना नरहेको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

‘अघिल्लो वर्ष भन्दा २० प्रतिशतभन्दा बढी राजस्व संकलन हुन कर दर बढाएर मात्रै सम्भव हुँदैन,’ भन्सार विभागका सूचना अधिकारी खड्काले भने, ‘देशमा आर्थिक गतिविधि नै बढ्नु पर्छ । तर, पछिल्लो समय आर्थिक गतिविधि नै सुस्त भएकाले राजस्व लक्ष्य प्रभावित भएको हो ।’


क्लिकमान्डु