राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सकारात्मक लयमा जान थाल्योः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार र राष्ट्र बैंकले लिएको कठोर नीतिले अहिले अर्थतन्त्र सकारात्मक लयमा गएको दाबी गरेका छन् ।

नेपाल बैंकको ८६ औं वार्षिकोत्सवका अवसरमा बुधबार उनले सरकार र केन्द्रीय बैंकले गत फेब्रुअरीदेखि लिएको निर्णयले अहिले अर्थतन्त्र सकारात्मक दिशातर्फ जान लागेको बताएका हुन् ।

‘गत वर्षभरी धेरै नै स्ट्रेसफुल आर्थिक अवस्था रह्यो’ गभर्नर अधिकारीले भने, ‘हामीले गत फेब्रुअरीमा धेरै नै कठोर नीति लिएका थियौं, त्यसको प्रभाव अहिले देखिएको छ ।’

लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितीमा रहेको भए पनि चालु आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको उनको भनाइ छ ।

असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उनले बताए । असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्बले बढेको अधिकारीले बताए ।

गभर्नर अधिकारीले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनु परेको स्मरण गरे । उक्त समयमा राष्ट्र बैंकको ध्यान कसरी हुन्छ अर्थतन्त्रलाई स्थायित्व दिने भन्नेमा केन्द्रित रहेको र अझै पनि आफूहरु गम्भीर रहेको अधिकारीको भनाइ छ ।

‘अर्थतन्त्र बिग्रियो भने त्यो अर्थतन्त्रमा बस्नेलाई अप्रिय हुन्छ’, उनले भने, ‘त्यही भएर सरकार,राष्ट्र बैंकले त्यस्तो निर्णय लिनु परेको हो ।’ यस बीचमा तरलता अभाव लगायतका कारणले गर्दा सेवाग्राहीको माग अनुसार बैंकबाट कर्जा लिन समस्या भएको उनले बताए ।

नेपाल बैंकले हजारमा लोन दिएका उद्यमी अहिले अर्बपति भएको भन्दै अधिकारी अर्बौको सम्पति बनाउनु, अर्बौंको उद्योगी बन्नु सबैका लागि गर्वको विषय भएको बताए ।

उनले केही उद्योगीले २५/३० वर्षदेखि लिएको कर्जा जस्ताको त्यस्तै रहेको स्मरण गर्दै त्यस्ता उद्योगीलाई अलिक तात्न सुझाव दिए ।

‘बैंक आफैं तात्ने होइन’ उनले भने ‘तात्ने उद्य‍मी हो । बैंकले सघाउने हो । बैंकले गरेको बैंकिङले देशको अर्थतन्त्रमा सहयोग पुगेको छ । उद्यमीहरुले प्रसस्त सुविधा पाउनु भएको छ ।’ त्यसको भ्यालु अर्थतन्त्रमा रहेको उनको भनाइ छ ।


क्लिकमान्डु