यस्तो छ नेपाल बैंकको ८६ वर्षे यात्रा



काठमाडौं । विश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनुपर्‍यो ।

नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो ।

नेपाल बैंक नेपालको पहिलो बैंक हो जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सुरु भएको यस बैंकमा १० जना लगानीकर्ता थिए ।

८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ ।

नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंकलाई जान्छ । भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले महत्वपूर्ण भूमिका खेलेक छ ।

वि.स. १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको नेपाल बैंक देशको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको संस्था हो ।

नेपाल बैंकमा हाल २३ लाखभन्दा बढी ग्राहक छन् । पुस्तौँदेखि पुस्तासम्म गहिरो इतिहास भएको यो बैंक हाल ‘सबै पिढीको साथी’ का रूपमा अगाडि बढिरहेको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व

बैकिङ सेवासँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोचअनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका धेरै महत्त्वपूर्ण क्षेत्रहरूमा आफ्नो सहभागिता जनाएको छ ।

कैयौँ समाज सेवाका कार्यहरूमा बैंक निरन्तर साथ दिइरहेको छ । त्यसैगरी हरेक नेपालीहरूमा वित्तीय ज्ञान एवं चेतना प्रदान गर्दै वित्तीय पहुँचको विस्तार एवं वित्तीय समावेशीकरणमार्फत आर्थिक समृद्धिको आधारशिला निर्माणमा टेवा प्रदा गर्न देशव्यापी रूपमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

प्राकृतिक प्रकोप, महामारीलगायतका विभिन्न सङ्कटहरूमा अग्रपङ्क्तिमा रही बैंकले अतुलनीय रूपमा सामाजिक उत्तरदयित्व पूरा गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बैंकको दाबी छ ।

अर्थतन्त्रको मौद्रिकीकरण तथा देशैभर शाखा सञ्जाल विस्तारमार्फत वित्तीय पहुँच बढाएर एवं सरकारका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गरी गरिबी निवारणमा योगदान दिएर उद्योग तथा वाणिज्य क्षेत्रको विकासमार्फत प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी सिर्जना गरेर नेपाल बैकले आर्थिक विकासमा प्रभावकारी भूमिका खेलिरहेको जनाएको छ ।

परम्परागत बैकिङबाट आधुनिक बैकिङमा सफलताका साथ ठुलो छलाङ मार्न सफल अब्बल बैंकका रूपमा नेपाल बैंकले आफ्नो पहिचान बनाएको छ । सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ्, डेबिट कार्ड, क्रेडिट कार्ड, सि–आस्वा, क्युआरकोड लगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरूले बैंकको सेवाप्रवाहलाई थप गतिशील, सहज र प्रतिस्पर्धी बनाएको बैंकले जनाएको छ ।

कस्तो छ अहिलेको अवस्था ?

बैंकले २२६ शाखामार्फत कारोबार गर्दै आएको जनाएको छ । बैंकले शाखासँगै १९९ वटा एटिएम, ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ ।

यति मात्रै होइन, हाल आएर नेपाल बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल भइरहेको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ ।

वि.स. २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । ८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.४० अर्ब छ ।

प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ ।

प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापनलगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ । त्यसैले हरेक वित्तीय परिसूचकहरुका आधारमा नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकको रूपमा उभिएको छ ।


क्लिकमान्डु