जीवन बीमा कम्पनीले संकलन गरे ३५ अर्ब ७७ करोड, १२ कम्पनीको व्यवसाय बढ्दा ७ कम्पनीको घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमास अर्थात असोज मसान्तसम्ममा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ६.३० प्रतिशतले घटेको हो । गत आवको असोज मसान्तसम्मा कम्पनीहरुले ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको असोज महिनासम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कबाट २८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ उक्त रकम संकलन गरेका हुन् ।

असोज मसान्तसम्मा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३८ लाख ८३ हजार २५६ वटा रहेको बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांअनुसार गत आवको सोही अवधिको तुलनामा १२ कम्पनीको व्यवसाय बढ्दा ७ कम्पनीको व्यवसाय घटेको छ ।

राष्ट्रिय बीमा संस्थान, एलआइसी नेपाल, गुराँस लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु लाइफको व्यवसाय घटेको हो ।

गत आवको सोही अवधिको तुलनामा राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क संकलन ७५.३७ प्रतिशतले घटेर १ अर्ब ११ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । गत आवमा संस्थानले ४ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको तुलनमा एलआइसी नेपालको बीमाशुल्क संकलन १३.९८ प्रतिशतले घटेर ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँमा खुम्चिएको छ ।

यस्तै, गुराँस लाइफको बीमाशुल्क १३.९० प्रतिशत, प्राइम लाइफको १.८६ प्रतिशत, रिलायन्स लाइफको १.४७ प्रतिशत, रिलायबल नेपाल लाइफको ८.०२ प्रतिशत र प्रभु लाइफको ६.१९ प्रतिशतले घटेको छ ।

१९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ परेको छ । इन्स्योरेन्सले असोज मसान्तसम्ममा १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्मा इन्स्योरेन्सले ९ अर्ब ९० करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको तुलनामा इन्स्योरेन्सको व्यवसाय १.४१ प्रतिशतले बढेको हो ।

सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा महालक्ष्मी लाइफ परेको छ । इन्स्योरेन्सले असोज मसान्तसम्ममा ४० करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवमा इन्स्योरेन्सले ३३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको तुलनामा इन्स्योरेन्सको व्यवसाय २०.५० प्रतिशतले बढेको हो ।

नेपाल लाइफ र महालक्ष्मी लाइफसँगै नेशनल लाइफ, मेट लाइफ, एशियन लाइफ, आइएमई लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, सूर्या र सानिमा लाइफको पनि व्यवसाय बढेको प्राधिकरणले जनाएको छ ।

गत आवको सोही अवधिको तुलनामा नेशनलको व्यवसाय २६.८६ प्रतिशत, मेट लाइफको ०.९९ प्रतिशत, एशियनको ९.२२ प्रतिशत, सूर्याको १६.१४ प्रतिशत, आइएमईको ७.९६ प्रतिशत, यूनियनको १.२० प्रतिशत, ज्ययोतिको १७.८७ प्रतिशत, सन नेपालको ९.२१ प्रतिशत, सिटिजनको १५.७३ प्रतिशत र सानिमा लाइफको ४.१८ प्रतिशतले बढेको हो ।


क्लिकमान्डु