चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत बढीले वृद्धि



काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा बढीले बढेको हो ।

सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् ।

सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए ।

पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै नभएर हरेक खाद्यान्न लगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको उनले बताए ।

पूर्वअध्यक्ष बज्राचार्यले पछिल्लो एक वर्षमा ३० प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको बताए ।

दशैँ—तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको उनी बताउँछन् ।सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको उनको भनाइ छ । भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको उनले बताए ।

भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाएको र चामलको मूल्य घटेर आए पनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेका उनको दाबी छ ।

ज्राचार्यले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीहरुले चुनावमा पार्टीहरुलाई दिएको चन्दा असुल गर्न निर्वाचनकै अवसरमा वस्तुको मूल्य वृद्धि गरेको आरोप लगाए । उनले सरकारले उपभोक्ताको हीतमा कुनै चासो नराख्दा समस्या भएको बताए ।

कुलेश्वरका खाद्यसामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल, दाल चामलको मूल्य बढेर आएको बताए ।

भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारणले चामलको मूल्य धेरै बढेको बताए । डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको उनको दाबी छ ।

कुलेश्वमा खाद्यन्न किन्न आएकी विष्णु प्रधानले दाल, चामल तथा तेलको मूल्य अत्याधिक बढेर सामान किन्न नसक्ने अवस्था भएको गुनासो गरिन् ।

सरकार निर्वाचनमा मात्रै नभएर बजार अनुगमनमा लाग्नु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु