सेयर बजारप्रतिको आकर्षण बढ्दो, डिम्याट लिनेको संख्या साढे ५४ लाख पुग्यो
काठमाडौं । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या पनि निरन्तर बढिरहेको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सख्या ५४ लाख ५० हजार १० जना पुगेको छ । डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि निकै बढेको छ ।
सीडीएससीका अनुसार मेरो सेयरको संख्या ४५ लाख ४० हजार ६३५ पुगेको छ । सीडीएससीको विवरणअनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य वृद्धि भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा दिन तथा सेयरको अभिलेखीकरण गर्न निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या ८३ रहेको छ । सि–आस्वा सदस्य लिने बैंक तथा वित्तीय संस्थाको संख्या ५६ रहेको छ ।
सर्वसाधारणले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा आवेदन दिँदा डिम्याट खाता अनिवार्य चाहिने भएकाले डिम्याट, मेरो सेयर लिनेको संख्या बढेको सीडीएससीको भनाइ छ ।
पछिल्लो समय आइपीओमा मात्रै नभएर हकप्रद, ऋणपत्र, सामूहिक लगानी योजनामा पनि लगानीकर्ताको आकर्षण बढेको छ । जसले गर्दा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या बढेको छ । लगानीकर्ता प्रविधिमैत्री बन्दै जाँदा मेरो सेयर लिनेको संख्या पनि निकै बढेको छ ।
अनलाइन सेवाले लगानीकर्तालाई विस्तारै बजारको बारेमा चासो बढाउन, प्रविधिमैत्री बन्न प्रेरित गरेको, थोरै सयमा, छिटो छरितो रुपमा काम गर्न सकिने भएका कारण मेरो सेयर अहिले लगानीकर्ताको प्राथमिकतामा परेको जानकारहरुको भनाइ छ ।
अनलाइन प्रणालीले सेयर बजारलाई देशब्यावी बनाइरहेको छ । अनलाइन प्रणाली कै कारण उपत्यका मात्रै नभएर देशका दुर दराजमा रहेका लगानीकर्ता पनि सेयर बजारमा लगानीगर्न सक्ने भएका छन् ।