चिलिमेको नाफा २.१४ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चिलिमे जलविद्युत कम्पनीको नाफा २.१४ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा २० करोड ३५ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेकामा चालु आवको सोही अवधिमा २० करोड ७८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ । विद्युत विक्रीबाट हुने आम्दानीमा आएको सुधारका कारण कम्पनीको नाफामा पनि सुधार देखिएको छ । असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्री गरेर ३५ करोड ५८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको थियो । यो अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १.१८ प्रतिशतले बढेको छ ।
यो अवधिमा कम्पनीको सञ्चालन नाफा भने घटेको छ । गत आवको तीन महिनामा २३ करोड ५९ लाख रुपैयाँ रहेको सञ्चालन नाफा अहिले घटेर २२ करोड ८३ लाख २९ हजार रुपैयाँ रहेको छ । ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहको कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७७ पैसा रहेको छ ।